Page 215 – Nepalboli

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरूको बैसाखी नटेकी आफैँ दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्दै सफलताको कामना गर्नुभयो ।

मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाउनुुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्ण रूपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।” कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग सम्बन्धित पुस्तक पनि विमोचन गर्नुभयो ।

एमालेका महासचिव शङ्कर पोखरेलले भविष्यका कर्णधार विद्यार्थीवर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुनसक्ने बताउनुभयो । अनेरास्ववियुका पूर्वअध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ ।

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका अध्यक्षबीच भेटवार्ता

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको हो ।

दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

 

 

 

विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै- अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुँदै अध्यक्ष नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताउनुभएको हो ।

त्यस्तै, उहाँले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको औंल्याउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘उदयपुर र डडेलधुरामा विमानस्थल चल्छ रु बैतडीमा चलिरहेको छ रु त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन रु के छ त्यसको हालत रु भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन रु उदयपुरमा के आवश्यकता छ रु किन बनाउनु पर्‍यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरू केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ ।’’

अध्यक्ष नेपालले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको टिप्पणी गर्नुहुँदै मेरो जिल्लामा मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको जिकिर गर्नुभयो ।

विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उहाँको भनाइ छ ।

 

रास्पा अध्यक्ष रवि लामीछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ।

पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी पूर्व प्रहरी नायव महानिरीक्षकसमेत हुनुहुन्छ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको थियो।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीसँग एक अर्ब ५१ करोड बिगो माग भएको छ।

गाउँको विद्यालय- जहाँ सहरका विद्यार्थी पढ्छन्

बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।

गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थी अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् ।

नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१-८१ मा यस विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना रहेका छन् ।

कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताउनुभयो । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उहाँको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको सहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरूपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिँदै आएको छ । यस विद्यालय आव २०७६-७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो । विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताउनुभयो । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उहाँको भनाइ छ ।

विद्यालयले एसइईसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताउनुभयो । उहाँका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थी यस विद्यालयमा आउने गर्दछन् ।

यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ ।

नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८-७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपियाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ । विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षिक गुणस्तरमा खर्च गर्न थालिएको छ ।

विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् । दरबन्दीबाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताउनुभयो ।

विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्नुहुन्छ ।

यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताउनुभयो । दूरीका हिसाबले गणेश माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उहाँको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउनुहुन्छ ।

बागलुङ नगरपालिकाले अगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् ।

 

स्वास्थ्य मन्त्रालयको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ ।

एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् ।

सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । यसअघि भैरहेको रोग तथा खोपसम्बन्धी जानकारी लिने दिने काम पनि एकाइले गरिरहेको बताए ।

मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले पैसा नलाग्ने र गुनासा समेत सम्बोधन हुने भएकाले हेल्लो हेल्थमा गुनासा राख्न आग्रह गरे ।

 

 

उपल्लो मुस्ताङमा पर्यटक बढे

सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिनुभयो । उहाँका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दस गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।

सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र–५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दस दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिनुभयो । लोमान्थाङ गाउँपालिका-१ मा पर्ने नेचुङ भन्दामाथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो । निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उहाँले उल्लेख गर्नुभयो ।

 

अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा सापकोटाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उपर अख्तियारको कार्यालय, कञ्चनपुरबाट अनुसन्धान हुँदा सापकोटाले अख्तियारका अधिकृतलाई एक लाख रुपियाँ घुस दिन खोजेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

‘‘उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा निजलाई अनुसन्धान अधिकृत आफैँले खोलेर दिनुभन्दा निजले बोकेको हरियो रङ्गको झोला भित्र रहेको पहेँलो खाममा एक लाख रुपियाँ भेटिएको थियो,’’ प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘यो के को पैसा हो रु भनी सोधपुछ गर्दा मुद्दा मिलाइदिन तपाईंका लागि नै स्वेच्छाले ल्याएको हो भनी भनेका थिए ।’’

अख्तियारको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अछाम, मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीको विस्तृत अनुसन्धानका लागि सापकोटालाई बोलाएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

बयान दिन जाँदा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले घुस दिएकाले भ्रष्टाचार मुद्दामा कैद, बिगो र जरिवाना हुनुपर्ने माग अख्तियारले गरेको छ ।

 

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम्म कुल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्युडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।

क्षेत्रीय भूकम्प ब्युरोका अनुसार ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा परकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।

वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन

नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली, सुनिता बराल हुनुहुन्छ ।

समितिका निर्णयहरुबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिनाभित्रमा प्रतिवेदन पेश गर्ने बताउनुभयो ।

क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताउनुभयो । समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ ।

यसैगरी, विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक सङ्ग्रहालयहरुको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्द्धनमा जोड दिन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममूलक बनाई कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबिच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

समितिले नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समय समयमा समितिमा पेश गर्न र राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरुको उपयोग, योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।