Page 210 – Nepalboli

रवि लामिछानेको थुनछेक बहस सकिएन- न्यायिक हिरासतमा पठाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। लामिछाने बयान सकिए पनि थुनछेक बहस नसकिएपछि अदालतले सोमबार उहाँलाई न्यायिक हिरासतमा पठाएको हो ।

आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस नसकिएपछि लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको थियो । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस जारी रहेकाले उहाँ हिरासतमै बस्नुपर्ने भएको हो । मंगलबार माघ १ गते माघीको सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ । अब लामिछाने बुधबार मात्र अदालतमा उपस्थित हुनुहुनेछ ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिएको छ ।

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ। लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ।

 

 

 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

सरकाले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब एक अर्ब ६३ करोड रुपियाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले अन्य विभिन्न २६ वटा निर्णय गरेको छ ।

 

प्रधानमन्त्रीद्धारा दल सम्बन्धी अध्यादेश ल्याउने संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भएको भन्दै यस सम्बन्धी चर्चामा रहेको अध्यादेश आउन सक्ने संकेत गरेका छन । प्रधानमन्त्री ओलीले कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पादै कानुनमा सुधारको आवश्यकता रहेकाले त्यस्तो अध्यादेश आवश्यक रहेको जिकिर गरेका छन ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले अरु दल विभाजन गराउने नियतले अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता हल्ला फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गर्नुभयो ।

उहाँले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरूले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यस्को विरोध भयो भन्ने झुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उहाँले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको बताउनुुभयो । “हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भन्नुभयो, “राम्रो काम राति गर्न हुन्न भन्ने छ र रु के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र रु’’

सञ्चार क्रियाकलापका नाममा कीर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाउनुभयो ।

 

राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ चार वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिबाट नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम विभिन्न चार वटा अध्यादेश जारी भएको जानकारी गराउनुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको हो।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश ६० दिनमा संसदबाट अनुमोदित हुनुपर्छ।

बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति

सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्राधिकरणकाअनुसार सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठूला गरी क्षति भएको देखिएको जनाएको छ । सबैभन्दा बढी असार,साउन,भदौ र असोजमा आएको बाढीको कारण सबैभन्दा बढी वागमतीमा क्षति भएको देखिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा।भीष्मकुमार भुसालले जानकारी दिए । उनले बाढीले क्षति गरेका १७४ सरकारी भवनहरु पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको बताए । उनले बाढीको कारण ऊर्जा तथा जलस्रोतका २ हजार १९ वटा आयोजनाहरु पुनःनिर्माण गर्नुपर्ने देखिएको बताए । उनले विपद्पछि पुनःनिर्माणको लागि गर्नुपर्ने कतिपय कामहरु गर्न सरकारले आइतवार गरेका निर्णयले सहज भएको बताए ।

उनले सातै प्रदेशमा भएको क्षति पुनःनिर्माणको लागि इन्जिनियरहरु आवश्यकता पर्ने भएकाले सातै प्रदेशमा रहेका इन्जिनियरहरुलाई आवश्यकताका आधारमा सबैतिर खटाएर काम गर्ने निर्णय आइतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले गरेको बताए । उनले पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउनको लागि पनि अड्किएर बसेका कामहरु निजी आवास पुनःनिर्माणका लागि कार्यविधि स्वीकृत भएसँगै अगाडि बढ्ने बताए । उनले सरकारले विपद्मा राम्रोसँग सूचना सञ्चार हुन नसकेको कारणले क्षतिहरु बढेको अवस्थालाई मूल्याङ्कन गरी प्राधिकरणले जोखिम न्युनिकरणको लागि सूचना तथा सञ्चार योजना पनि जारी गरेको बताए । त्यस्तै सरकारले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको बताए ।

उनले भने, ‘विपद्पछि रिकभरी गर्ने ठाउँमा जान्छौं । त्योसँगै पोषण लगायतका विभिन्न विषयहरुलाई समेत समावेश गरेर पोष्ट डिजास्टर रिकभरी योजना (पीडीआरपी) आईतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पास गरेको छ । असोज र त्यो भन्दा अगाडि भएका विपद्जन्य घटनाको विषयमा अध्ययन तथा विवरण संकलन गरौं । अजरबैजनमा भएको कोप २९ मा समेत नेपालमा जलवायु परिवर्तनको कारणले भएका विपद्हरु र भएका क्षतिको विषयमा विभिन्न फोरमहरुमा नेपाली प्रतिनिधिहरुले बोल्ने काम भएको छ ।’

उनले थप भने, ‘पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउनको लागि पनि केही कुराहरु अड्किएका थिए । निजी आवास पुनःनिर्माणका लागि कार्यविधि स्वीकृत हुन बाँकी थियो । निजी आवासको कार्यविधि तयार भयो । विपद्मा राम्रोसँग सूचना सञ्चार हुन नसकेको कारणले क्षतिहरु बढेको अवस्था पनि देखिए । त्यसले गर्दा प्राधिकरणले त्यसैबीचमा प्राधिकरणले जोखिम न्युनिकरणको लागि सूचना तथा सञ्चार योजना पनि जारी भयो । विपद् संवेदनशिल सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको छ । तालिम प्राप्त जनशक्ति थप गर्ने योजनामा छौं । यो वर्षको वर्षातको समयमा भएका बाढी पहिरोका कारण ३८१ सडक,पुलमा क्षति पुगेको छ । सातै प्रदेशमा क्षति भएको देखिएको छ । बाढीको कारण सबैभन्दा बढी वागमतीमा क्षति भएको छ । १७४ सरकारी भवनहरु बनाउनुपर्ने रहेछ । ऊर्जा तथा जलस्रोतका २ हजार १९ वटा पुनःनिर्माण गर्नुपर्ने देखिन्छ ।’

आइतवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको थियो । योजना स्वीकृतिसँगै आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने प्राधिकरणले जनाएको छ ।

क्षतिको विस्तृत आँकलन (डीडीए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा शहरी पूर्वाधार, विद्युत वैकल्पिक ऊर्जा र सिंचाई, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाई तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।

 

 

 

नेपाल-भारतबीचको सैन्य अभ्यास समापन

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ । नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सूर्य किरण समापन भएको हो ।

नेपाली सेनाका अनुसार सो संयुक्त तालिममा सैनिकहरूले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरूमा सैद्धान्तिक र व्यवहारिक अनुभवहरूको आदान प्रदान गरेका थिए ।

 

पुनर्निर्माण योजना स्वीकृत

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ को मनसुनजन्य विपत्पश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार १६ औँ बैठकले योजना स्वीकृत गरेको हो । क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरी पुस २१ गते बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयको सिफारिसबमोजिम क्रियाकलापसहितको योजना बैठकले स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार योजना स्वीकृतिसँगै आउँदो माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण थालनी हुने निश्चित भएको छ । क्षतिको विस्तृत आँकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रव्रिmया प्रारम्भ गर्ने निर्णय भएको छ ।

बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने र मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देश गरेको छ ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुराताìिवक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।

स्रोत परिचालनका लागि आन्तरिक वा बाह्य स्रोत परिचालन गर्न अर्थ मन्त्रालयले अग्रसरता लिने छ भने पुनर्निर्माण र पुनस्र्थानाका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले डोटी तथा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पपछिको क्षति आँकलन, निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण प्रव्रिmया प्रारम्भ गर्ने निर्णय भएको छ । यसै गरी २०८० मा सङ्खुवासभासहितका जिल्लामा बाढीजन्य विपत्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई २०८१ असार ३१ गते मन्त्रीपरिषद्को निर्णयबमोजिम नै हुने गरी राहत उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

यसका लागि गृह मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव पठाउने छ । विपत्मा परी बेपत्ता भएकाहरू १० दिनसम्म फेला नपरेका तत्कालीन समयमा विवरण सङ्कलन भएका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय २०८१ साल असार ३१ गतेको मन्त्रीपरिषद् बैठकले गरेको थियो ।

बैठकले प्राधिकरणका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने पनि निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापतिसहित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले विपत्बाट जति वटा घर क्षति भएका छन्, त्यति वटा नै निर्माण गर्नुपर्ने स्पष्ट पार्नुभयो । यस कार्यका लागि कार्यविधि परिवर्तन गर्नसमेत सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो । घर निर्माणका लागि विगतबाट पाठ सिक्दै सतर्कताका साथ सम्झौता गर्नुपर्ने पनि उहाँले सुझाउनुभयो ।

विपत्मा बेपत्ता भएका व्यक्ति दस दिनसम्म नभेटिएमा मृत्यु भएका व्यक्तिसरह परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बताउँदै उहाँले पहिलो किस्तामा कतिपयले दोहोरो सुविधा लिएको पाइएकाले दोस्रो किस्ता जाँचबुझ गरी वितरण गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राहत वितरण तथा पुनर्निर्माणमा मुलुकभरि एउटै मापदण्ड लागु गर्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिनुभयो । उहाँले फरक प्रसङ्गमा प्राकृतिक विपत्को राहत वितरण कार्य सङ्घीय सरकारबाट रोक्नुपर्ने उल्लेख गर्नुभयो ।

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। तर, आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो।

भारत उत्तरप्रदेशको प्रयागराजमा सुरु भयो कुम्भ मेला

भारतको उत्तर प्रदेश प्रदेशमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ।

कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्।

उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ। कुम्भ मेलालाई हिन्दुधर्मको सबै भन्दा ठुलो मेला पनि भनिन्छन ।

 

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले बढ्यो

भारतको औद्योगिक उत्पादन सूचकाङ्क नोभेम्बर २०२४ मा ५.२ प्रतिशतले बढेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्कले नोभेम्बर २०२४ को लागि खानी, उत्पादन र बिजुली तीन क्षेत्रहरूको वृद्धि दर क्रमशः १.९ प्रतिशत, ५.८ प्रतिशत र ४.४ प्रतिशत रहेको देखाएको छ ।

नोभेम्बर २०२४ को महिनाका लागि खानी, उत्पादन र बिजुली क्षेत्रहरूको औद्योगिक उत्पादन सूचकाङ्क क्रमशः १३३.८, १४७.४ र १८४.१ छ । तथ्याङ्कले नोभेम्बर २०२४ का लागि उत्पादन क्षेत्र भित्र, शीर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभूत धातुहरूको उत्पादन (७.६ प्रतिशत), विद्युतीय उपकरणको उत्पादन (३७.२ प्रतिशत) र अन्य गैर–धातु खनिज उत्पादनहरूको उत्पादन (१२.० प्रतिशत) रहेको देखाएको छ ।