नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागी सुझाव कार्यदल गठन गर्न लागेका छन । वर्तमान सरकार बनाउँदा गरिएको ७ बुँदे समझदारी अनुसार संयुक्त कार्यदल बनाएर संविधान संशोधनका विषयहरू पहिचान गर्न लागिएको काग्रेस र एमालेका नेताहरूले बताएका छन ।
कांग्रेस र एमालेले गएको १७ असारमा संयुक्त सरकार बनाउने गरी ७ बुँदे समझदारी गरेका थिए । समझदारीको बुँदा नम्बर दुईमा संविधान संशोधनको कुरा उल्लेख गरेका थिए । यी दुुई पार्टीले संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने सहमती पत्रमा उल्लेख गरेका थिए ।
संविधान संशोधनकै मुद्धा कारण मधेश केन्द्रित दलहरु सहित साना दलहरु काग्रेस र एमाले विरुद्ध देखिएका छन । राप्रपाले शुकवार मात्रै केन्द्रित समिति बैठकमा सरकार विरुद्ध आन्दोलनमा जान प्रस्ताव गरेका छन । मधेश केन्द्रित दलहरुले भने संशोधनकै त्रासका कारण मोर्चाबन्दीका प्रयासमा देखिएका छन । काग्रेस र एमालेले संशोधन मार्फत थ्रेसहोल्ड बढाएर देशमा दुुई दलीय व्यवस्था लादन खोजेको साना दलहरुको आरोप छ ।
यस्तो पृष्ठभूमिमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू संविधान संशोधनका विषय र प्रक्रियाबारे छलफलमा जुटेको बताएका छन । कार्यदलमा नेपाली कांग्रेसबाट दुई जना, नेकपा एमालेबाट दुई जना रह्ने छन । दुई दलीय कार्यदलाई एक डेढ महिनाको समय दिने गृहकार्य चलीरहेको छ ।
कार्यदलले एक डेढ महिनाको समयभित्र कार्यदलले कांग्रेस र एमालेले चाहेको संविधान संशोधनका विषयलाई एकीकृत गर्नेछ । दुई दलीय कार्यदलले दिएको सुझावका आधारमा अन्य दलहरूसँग छलफल गरिने तयारी सरकारको छ । यसका लागि कांग्रेसले चाहेको संशोधनका विषय र एमालेले चाहेका संशोधनका विषयलाई एक ठाउँमा राखेर दुवै दलले चाहेको साझा विषय पहिचान गरेर अगाडि बढ्न लागिएको हो ।