Page 191 – Nepalboli

प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन्। शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुभयो।

सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती अध्यादेश संशोधन गर्नुपरेको उहाँको भनाइ छ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गर्नुभएको छ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नुभएको हो।

पाल्पाबाट यो बर्ष ५२ करोडभन्दा वढीको सुन्तला बिक्री

यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष ४६ करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका किसानले यस वर्ष ५२ करोड ७६ लाखको सुन्तला बिक्री गरेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्र र उत्पादन पनि बढेकाले किसानले गत वर्षभन्दा बढी आम्दानी गरेको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष जिल्लाभर एक हजार १३० हेक्टर क्षेत्रफलमा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । जबकि गत वर्ष एक हजार ११५ हेक्टर क्षेत्रफलमा आठ हजार ८६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाका छ पालिकामा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको छ । यस वर्ष पाल्पाका किसानले बोटमै प्रतिकिलो ५२ रुपियाँ मूल्य पाएको कृषि प्राविधिक बताउँछन् । सुन्तलाका दाना साना भए पनि बोटमा फल धेरै लागेको र सुन्तलाका दाना रसिला र गुलिया रहेको किसानको दाबी छ । यस वर्ष रैनादेवी छहरामा ४५२, रिब्दीकोटमा ३९६, बगनासकालीमा ११३, पूर्वखोलामा ९०, तानसेनमा ६८ र माथागढीमा ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको थियो । जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट र बगनासकालीमा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढी छ ।

त्यस क्षेत्रका किसानले वार्षिक प्रतिव्यक्ति दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको रैनादेवी छहरा–४, सुन्तलाबासका किसान नित्यानन्द पोखरेलले बताउनुभयो । रैनादेवी छहरामा एक सयदेखि सात सयसम्म सुन्तलाका बोट लगाई त्यसबाट हरेक वर्ष प्रतिफल लिने किसान रहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय यहाँका किसानलाई सुन्तलाको बजार खोज्नसमेत समस्या छैन । सुन्तला खोजी गरेर सुन्तला खरिद गर्ने व्यापारी घरमै आउने गरेका छन् । यस वर्ष राम्रो भाउ पाउने आसमा अहिले पनि कतिपय किसानले सुन्तला बोटमै राखेका छन् । किसानले बोटबाटै प्रतिकिलो ७० देखि ९० रुपियाँमा सुन्तला बिक्री गरिरहेको सुन्तला किसान टीकाराम पोखरेलले बताउनुभयो । पाल्पाको सुन्तला, तानसेन, बुटवल, भैरहवा, नवलपरासी, पोखरा, चितवनलगायतका क्षेत्रमा बिक्री हुने गरेको छ ।

पछिल्लो समय बाँझो रहेको जग्गामा समेत किसानले सुन्तला खेती गर्न थालेपछि हरेक वर्ष आम्दानी वृद्धि भएको पालिकाले जनाएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिएको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला लगाउने किसानलाई मल, बिउ तथा अन्य प्राविधिक सहयोग गर्दै आएको कार्यालय प्रमुख गणेशप्रसाद यादवले जानकारी दिनुभयो ।

 

 

 

 

सञ्चालनमा आयो ललितपुर महानगरका तीन वडालाई जोड्ने नख्खु पुल

ललितपुर महानगरपालिकाको ३ वटा वडालाई जोड्ने पुल सञ्चालनमा आएको छ । महानगरपालिकाले वडा नम्बर १३, १४ र २५ लाई जोड्न निर्माण गरेको पक्की पुलको आज शुक्रबार उद्घाटन भएको हो । दक्षिण ललितपुरको क्षेत्रहरू बुंगमती, खोकनातर्फका बासिन्दालाई सहज हुने गरी महानगरले नख्खु खोलामा पुल निर्माण गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल उद्घाटन गरेका हुन् ।

तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको पुल २ करोड ७० लाख रुपैयाँमा निर्माण गरेको हो । महानगरले ३ भदौ २०७९ मा ठेक्का सम्झौता गरेको थियो । २ वर्षभित्र सकाउने सम्झौता भए पनि सम्पन्न नभएपछि २० मंसिर २०८१मा म्याद थपेको थियो ।

पुल सञ्चालन भएपछि दक्षिण ललितपुर क्षेत्रका नागरिकलाई सहज हुने भन्दै महानगर प्रमुख महर्जनले सबैको लागि विकास गरिरहेको बताएका थिए । उनले कोरसिटीमा मात्रै नभई महानगरको उपस्थिति नयाँ र बाहिरी सहरहरूमा पनि भइरहेको बताएका थिए ।

महानगरले अपांगता भएका नागरिकलाई मध्यनजर गरी अपांगतामैत्री आकाशे पुल निर्माणको काम पनि गरिरहेको बताए ।

 

 

क्रिप्टोको कारोबार गरेको आरोपमा ७ जना पक्राउ

प्रहरीले संगठित रूपमा क्रिप्टो करेन्सीको कारोबार गर्ने र ठगी गर्ने समूहका सात जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो। प्रहरीले एक जना मास्टर एजेन्टलाई पनि पक्राउ गरेको छ। कैलाली बर्दगोरिया गाउँपालिका–६ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरालाई पक्राउ गरेको हो। उनी मास्‍टर एजेन्ट रहेको सीआइबीले जनाएको छ ।

त्यस्तै, बर्दगोरियाकै २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाईं, बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत घर भई काठमाडौं बस्ने २७ वर्षीय रोशन कुमार र भारतकै ३६ वर्षीय मुन्ना कुमार पक्राउ परेका हुन्।

उनीहरूले नेपालमा संगठित रूपमै क्रिप्टोको कारोबार र अनलाइन ठगी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट दुई वटा सुपर कम्प्युटर, १३ वटा मोबाइल फोन, १९ वटा चेक र साढे ५ लाख नगद बरामद गरेको छ ।

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।

नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाउनुभयो । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।”

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार–पाँच महिना बसेर ध्यान गर्ने गरेका छन् ।

त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन् । यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।

उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्र हो । दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । शिवपार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाबाट तराईसँगको सिधा यातायात सुरू भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको हो ।

सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्को विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहज रूपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् ।

 

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय

विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी बैठकले अध्यादेश अस्विकार गर्ने निर्णय गरेको हो ।

बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएकाले विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकले राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रण तथा अन्य विषयहरुमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउने निर्णय भएको समेत बताए ।

मधेसकेन्द्रित दलहरुद्धारा मोर्चाबन्दीको अवधारणा बनाउन कार्यदल गठन

मधेसकेन्द्रित आठ दलले आठ सदस्यीय कार्यदल गठन गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएका हुन् । बैठकले बैठकमा जसपा इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह रहेको कार्यदल गठन गरिएको छ ।

आठ दल सम्मिलित कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने नेताहरुले बताएका छन ।

नेताहरुका अनुसार सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुने बारेमा समेत विहिवार मधेशी नेताहरुको विचमा छलफल भएको छ । बैठकमा साझा धारणा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा सबै दल एकमत भए पछि कार्यदल गठन गरेका हुन ।

अब कार्यदलको नियमित बैठक बस्ने र त्यसले मोर्चाका लागी अवधारणा र एजेण्डा तय गर्ने नेताहरुले जानकारी दिएका छन ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने

नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले सामाजिक सञ्जाललाई मर्यादित बनाउनका लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताउनुभयो । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उहाँको भनाइ छ । कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामालगायतले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने नाममा प्रेस स्वतन्त्रता हनन गर्न नहुने बताउनुभयो । अधिवेशनले नवीन लुईंटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल र सञ्चारकर्मी विष्णु कल्पितलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने- सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ लाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कमजोर रहेकामा वर्तमान सरकारको प्रयासले सुधार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उहाँका अनुसार यसै वर्षभित्र नेशनल पार्क, आइटी पार्कलगायतका आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ ।

सरकारले ल्याएको अध्ययादेशले व्यावसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ । उहाँले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा पाँच प्रतिशत योगदान पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताउनुभयो ।

 

 

 

संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि (शुक्रबार) अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ ।

यस्तै, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नुहुनेछ । अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्नुहुने छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१”, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१” र “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्नुहुने छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले “सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” र “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्नुहुने छ । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, राष्ट्रिय सभाको बैठकमा उल्लेखित कार्यसूची बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । दुबै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् ।

संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।