Page 182 – Nepalboli

नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन उडिसाका मुख्यमन्त्रीद्धारा आग्रह

भारतको उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् । उनले नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै सो आग्रह गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

मृतक केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिँदै उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए ।

केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न उडिसाका मन्त्री मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्यसचिव मनोज आहुजाले नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरेका थिए । साथै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यस विषयमा त्यहाँका मन्त्री सूर्यवंशी सुरजसँग फोन वार्ता गरेकी छन् ।

साग किनेर गुन्द्रुक बनाउँदै काभ्रेको भुम्लु गाउँपालिका

काभ्रेको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो रु २५ का दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए ।

उनका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्ने भएको हो ।

खत्रीका अनुसार आफुसँग हाल रहेको साग तथा प्रतिबर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ । ‘गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गर्ने योजना बनाईंदैछ’, खत्रीले भने ।

काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो । यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो ।

बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रवर्द्धन गर्न लागिएको हो । नगरमा दूध पर्याप्त उत्पादन हुने भएकाले नगरसभाबाटै विशेष प्रस्ताव पारित गरी स्थानीय किसानले उत्पादन गरेको दूधबाट मोही बनाएर खाँदा र खुवाउँदा स्वच्छ भइने नगर प्रमुख टोकबहादुर वाईबाले बताए ।

उनका अनुसार मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ । नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ।

 

लोक्ता खोजेर ल्याउने मान्छे नहुँदा कागज उद्योगलाई कच्चा पदार्थ अभाव

गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए।

उद्योगले कच्चा पर्दाथको अभावमा मागअनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ। नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,’ उनले भने। उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ।

‘वर्षभरि तीन महिना फागुन चैत र वैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ, उनले भने, तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ। जंगलबाट झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ। शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए।

‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन,’ उनले भने, ‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ,’ उनले भने। मजदुरहरुले जंगलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ। ‘रोजगारीका हिसाबले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ, उनले भने, ‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन्।’

उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुई हजार थान (२०-३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी बताए। शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ।

 

 

एक हप्ताभित्रै बर्दियामा दुई जंगली हात्ती मृत फेला

बर्दियामा एक हप्ताभित्र दुई जंगली हात्ती मृत फेला परेका छन् । बुधबार ठाकुरबाबा नगरपालिका वडा नं ३ को झरसलुवा सामुदायिक वनमा करिब ५० वर्षीय भाले हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

हात्तीको शव कुहिन लागेको अवस्थामा फेला परेको छ । एक दाह्रा काटिएको अवस्थामा एक्लै सामुदायिक वनमा हिँड्न हात्तीको मृत्यु भएको स्थानीयले बताएका छन् । सामुदायिक वनका उपभोक्ताहरूले कुहिन लागेको हात्तीको शव देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

हात्ती के कति कारणले मरेको हो भन्ने बारेमा अध्ययन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हात्ती ५ दिन अगाडि मरेको हुनसक्ने अनुमान गरिएको छ । हात्ती बिरामी भएरै थला परेर मरेको आंकलन गरिएको छ ।

हात्तीको पोस्टमार्टम गरी सोही स्थानमा गाडिएको छ । हात्तीको के कारणले मृत्यु भएको भन्ने पोस्टमार्टमको रिपोर्टबाट थाहा हुने छ।

यसअघि फागुन ३ गते ठाकुरबाबा नगरपालिका वडा नं ४ खैलारको गहुँबारीमा जंगली भाले हात्ती मृत फेला परेको थियो । करिब ३० वर्ष उमेरको सो हात्ती बिरामी भएर मृत्यु भएको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको थियो ।

ई कमर्स विधेयक दुवै सदनबाट पारित

प्रतिनिधिसभाबाट विद्युतीय (ईकमर्स) व्यापार विधेयक सर्वसम्मत पारित भएको छ। राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले मंगलबार पारित गरेको हो। यो विधेयक २०८० साल १२ असारमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले राष्ट्रिय सभामा दर्ता गरेका थिए। राष्ट्रिय सभाले १६ कात्तिक २०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले पनि मंगलबार पारित गरेको हो।

प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुका अनुसार ई(कमर्सले संसारभरि १५ लाख ३२ हजारभन्दा धेरै व्यक्तिलाई रोजगारी दिइरहेको छ। अलिबाबा कम्पनीले आफ्नो उत्पादनलाई संसारभरि पुर्‍याउन ई-विजनेशमार्फत प्रोत्साहन गरेको थियो। अलिबाबा मात्रै हाल दुई लाख १५ हजार बढीलाई रोजगारी दिइराखेको सांसद लिम्बुले बताए।

नेपालमा पनि इन्टरनेटको पहुँच एक करोड ५० लाख भन्दा बढी नागरिकमा पुगेको उल्लेख गर्दै सांसद लिम्बुले यो पृष्ठभूमिमा ई-कमर्स गतिमा विस्तार भइराखेको बताए।

अब यो विधेयक पुनः राष्ट्रिय सभामा जान्छ। प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्ष हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सबै क्षेत्रमा परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत गरिएका हुन् । प्रतिष्ठानले हाल तीनसय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चारसय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ ।

बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी–जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुनेगरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउन, कार्यकारी परिषद सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानको आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को बजेट तथा कार्यक्रम तत् सयममा सिनेट बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गर्नुभयो । उहाँले नियम, विधि र प्रक्रिया पूरागरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिनुुभयो ।

बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ। बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवलगायत सहमागी हुनुहुन्थ्यो ।

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद् अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताए । ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

त्यस्तै बैठकले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए ।

त्यस्तै स्थायी कमिटीको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, र आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरिएको ज्वालाले बताए । पार्टीको स्थायी कमिटी बैठक बुधवार पुनः बस्ने नेकपा समाजवादी बैठकले जनाएको छ ।

 

६ माग राख्दै नागरिक आन्दोलनले घोषणा गर्यो नागरिक जागरण कार्यक्रम

बृहत् नागरिक आन्दोलनका तर्फबाट मंगलबार काठमाडौंमा खगेन्द्र संग्रौला, कृष्ण खनाल, रामजी राम र निरन्ती तुम्वापोले शक्तिशाली नागरिक जागरण जरुरी भएको मत मत राखेका छन । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ बुँदे माग राख्दै वक्तव्य जारी गरेका उनीहरूले अबको नागरिक आन्दोलन नेताराजका विरुद्ध अघि बढ्ने उद्घोष गरे । लेखक खगेन्द्र संग्रौलाले भने, ‘नागरिक आन्दोलन नेताहरूका विरुद्धमा होइन, नेताराजका विरुद्धमा हो । उनीहरूले देखाएको व्यक्तिवादी आचरण र जनतालाई पटक्कै नगन्ने प्रवृत्तिविरुद्ध हो ।’

मार्टिन चौतारीमा पत्रकार तथा नागरिक अगुवाहरूबीच संग्रौलाले यसअघिका नागरिक आन्दोलनहरू लोकतन्त्र पुनर्स्थापना तथा नागरिकका प्रतिनिधिलाई जवाफदेही बनाउन भए पनि तिनीहरूलाई उपेक्षा गरिएको बताए । उनले जागरुक नागरिकलाई आफ्ना आवाज उठाउन पनि अपिल गरे ।

राजनीतिशास्त्री कृष्ण खनालले दलीय व्यवस्थामा दलहरू नै यसका चालक हुने भन्दै उनीहरूलाई पारदर्शी, जवाफदेही तथा नागरिकमूखी बनाउन आफूहरूले अभियान थालेको बताए ।खनालले भने, ‘दलहरूभित्र ठूलो गडबडी छ । आफ्नो पार्टीको भोट ठूलो अनुपातमा घट्दा पनि जिम्मेवारीको बोध छैन ।

‘आन्दोलनको वैचारिक तयारी स्वरुप फागुनमा विभिन्न नागरिक समूह र सरोकारवालाहरूसित भेटिरहेका छौं,’ उनले भने, ‘वैचारिक, भौतिक र अन्य किसिमका ब्यापक तयारी सकिएपछि चैत्रमा आन्दोलनलाई तीब्रता दिनेछौं ।’

 

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाउनुभएको हो।

नेपाल सरकार मन्त्रिपरिषद् को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो।

समितिले दाङमा रहेको विश्वविद्यालयको कूल एक हजार छ सय ६२ बिगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिगाहामध्ये नौ सय १० बिगाहा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताउनुभयो। सोही क्षेत्रमा विश्वविद्यालयको दुुई सय बिगाहा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ।

संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुने सुझाव दिनुभयो।

प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिनुभयो। प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी हुनुहुन्थ्यो।

 

एमसीसीको भुक्तानी प्रक्रिया स्थगन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयसँगै नेपालमा कार्यान्वयनमा आएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन भएको छ।

अर्थ मन्त्रालयले मंगलबार एमसीसीको भुक्तानी प्रक्रिया स्थगन भएको जानकारी गराएको हो। फागुन २ गते इमेलमार्फत् नेपाल सरकार र उक्त निकायबिच सम्पन्न कमप्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेको आयोजना सम्बन्धि भुक्तानी ९० दिनको लागि स्थगन भएको जानकारी पाएको मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २० मा जारी गरेको आदेश अनुसार एमसीसी फन्डको भुक्तानी रोकिएको मन्त्रालयले प्रष्ट पारेको हो।