ई कमर्स विधेयक दुवै सदनबाट पारित
प्रतिनिधिसभाबाट विद्युतीय (ईकमर्स) व्यापार विधेयक सर्वसम्मत पारित भएको छ। राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले मंगलबार पारित गरेको हो। यो विधेयक २०८० साल १२ असारमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले राष्ट्रिय सभामा दर्ता गरेका थिए। राष्ट्रिय सभाले १६ कात्तिक २०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले पनि मंगलबार पारित गरेको हो।
प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुका अनुसार ई(कमर्सले संसारभरि १५ लाख ३२ हजारभन्दा धेरै व्यक्तिलाई रोजगारी दिइरहेको छ। अलिबाबा कम्पनीले आफ्नो उत्पादनलाई संसारभरि पुर्याउन ई-विजनेशमार्फत प्रोत्साहन गरेको थियो। अलिबाबा मात्रै हाल दुई लाख १५ हजार बढीलाई रोजगारी दिइराखेको सांसद लिम्बुले बताए।
नेपालमा पनि इन्टरनेटको पहुँच एक करोड ५० लाख भन्दा बढी नागरिकमा पुगेको उल्लेख गर्दै सांसद लिम्बुले यो पृष्ठभूमिमा ई-कमर्स गतिमा विस्तार भइराखेको बताए।
अब यो विधेयक पुनः राष्ट्रिय सभामा जान्छ। प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्ष हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।