Page 179 – Nepalboli

लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस

सिरहा – इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए ।

गृह मन्त्रालयको योजनाअनुरुप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेमशङ्कर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले जनाए । कार्यालयका अनुसार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्र फर्किन्छन् । पहिलेजस्तो धेरैपटक दौडधुप गर्ने अब हुँदैन ।

डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण, सर्वसाधारणको पहुँच बढ्यो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइबीच जग्गा विवाद भयो । दाजुले तुलसीपुरको न्यायिक समितिमा एसएमएसमार्फत निवेदन दिए । दुई भाइलाई एसएमएसमार्फत न्यायिक समितिले छलफलका लागि बोलायो । दुईमध्ये एक भाइले जग्गा रोक्का राखेकाले विवाद उत्पन्न भएको थियो । विवादित दुवै पक्षलाई बोलाई न्यायिक समितिमा छलफल गरियो । जग्गा फुकुवा गर्न सहमत भएपछि दुवै राजीखुसी भए । त्यसपछि आगामी दिनमा विवाद नगर्ने कागज गरिएको तुलसीपुर उपमहानगरपालिका कानुनी मामिला शाखा प्रमुख लक्ष्मी रानाले बताइन् ।

आर्थिक वर्ष २०८०-८१ मा जिम्मेवारी सरी आएका ९० वटा मुद्दा थिए । चालु आर्थिक वर्षमा २६ मुद्दा दर्ता भएकामा आठवटा मिलापत्र भइसकेको छ । १८ वटा प्रक्रियामा रहेको उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले बताइन् ।

डिजिटल प्रणालीबाट काम गर्दा दोहोरिनेको सङ्ख्या कम भएकाले मुद्दा छिटो किनारा लागेको उनको भनाइ छ । तथ्यांक राख्न सजिलो भएको र न्याय सम्पादनमा डाटा प्रणालीले सकारात्मक प्रभाव पारेको उनले बताइन् । न्याय सम्पादन प्रभावकारी बन्दै जाँदा नागरिकको यसप्रति विश्वास पनि उनको अनुभव छ ।

पछिल्लो समय पीडितको उजुरी अनलाइनबाट लिने गरेकाले उजुरी गर्न वडा वा पालिकामा आउनुपर्ने झन्झट कम भएको छ । समय र खर्चको बचत हुने भएपछि नागरिक खुसी भएको उपप्रमुख चौधरीले बताइन् ।

उपमहानगरपालिकाले प्रविधि प्रयोग गरेर सेवा दिँदा छिटोछरितो र सहज भएको सेवाग्राहीको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका–५ की एक महिलाले घरपरिवारका सदस्यले इज्जत अनुसार खान लाउन नदिएको भन्दै उपमहानगरपालिको न्यायिक समितिमा उजुरी दिइन् ।

न्यायिक समितिले उनी र परिवारका अरू सदस्यलाई बुझ्नका लागि बोलायो । पहिलो चरणको छलफलमा कुनै निष्कर्ष निस्किएन । एसएमएसबाटै दोस्रो छलफलको खबर आयो र दुवै जनाका लागि स्विकार्य हुनेगरी मुद्दा किनारा लगाइयो ।

पालिकामा डिजिटल प्रविधिको प्रयोगका कारण छिटोछरितो न्याय पाएको उनले बताइन् । चालु आर्थिक वर्षमा प्रविधियुक्त पालिका बनाउने अभियान चलिरहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताए ।

शिक्षा, पञ्जीकरण, योजनाका बजेटमा डिजिटल प्रणाली सुरु भएपछि गलत तथ्यांक दिएर सेवासुविधा लिने प्रवृत्ति पूर्ण रूपमा बन्द भएको छ । नयाँ प्रणाली कार्यान्वयनमा आएपछि योजना बजेटपछि थप गर्ने प्रवृत्ति बन्द भएको पालिकाले जनाएको छ ।

पालिकाको पूर्ण जनसाङ्ख्यिक विवरणसमेत रहेको छ । नगरबाट प्रवाह हुने सबै प्रकारका सेवालाई अनलाइन प्रविधिमा रुपान्तरण गरिएको छ । एकीकृत तथ्यांक प्रणालीलाई व्यवस्थित गरी अभिलेख व्यवस्थापन तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउँदै लगिएको छ ।

वडा नं ६ बाट आरम्भ गरिएको सेवा अन्य वडाहरूले पनि परीक्षण गरिरहेका छन् । उपमहानगरपालिकालाई कागजरहित बनाउने नीतिअनुरूप वडा नं ६ बाट ई–सिफारिसको काम सुरु भएको हो । अब नागरिकले आफूलाई आवश्यक परेका कुनै पनि कागजात अनलाइनमा प्रक्रिया पूरा गरेपछि मोबाइलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए ।

‘ई–सिफारिस सेवाका लागि मोवाइलको प्ले–स्टोरमा गएर ‘तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड’ गरेर सेवा लिन सकिन्छ,’ उनले भने, ‘सेवाग्राहीले आफूलाई आवश्यक परेका पञ्जीकरण ९जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता० बाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन् ।’

यो सेवाले पालिकालाई कागजरहित बनाउने अभियानलाई सहयोग पुग्ने र नागरिकको समय बचत हुने वडाध्यक्ष भण्डारीले बताए।

उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सविन केसीका अनुसार, ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोबाइल एप्स डाउनलोड गर्नुपर्ने र डाउनलोड गरेर रजिस्ट्रे‍सन गरिसकेपछि चाहिएको सिफारिसका लागि कागजात ‘अपलोड’ गरेर निवेदन दिन सकिन्छ ।

सूचना प्रविधि अधिकृत केसीका अनुसार तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ की रामेश्री सिंहले मोबाइल एपका सहायताले वडा र पालिकाको गतिविधि थाहा पाउने गरेको बताउछिन् । शुद्धोधन गाउँपालिकामा न्यायिक समितिले अनलाइनबाट निवेदन लिन र सूचना प्रवाह गर्न थालेपछि सजिलो भएको सेवाग्राहीको भनाई छ ।

गाउँपालिकाको उपाध्यक्ष शान्तादेवी ज्ञवालीका अनुसार, न्यायिक समितिमा अनलाइनबाट उजुरी आउने गरेका छन् । विभिन्न दातृसंस्थाको सयोगमा ई–सिफारिस प्रणाली बनेपछि पालिकामा काम गर्न सहज भएको छ । सानो निवेदन दिन पनि वडामा जानुपर्ने बाध्यता हटेको छ ।

सबै शाखाको ‘आइडी’ बनाएर एकीकृत सूचना व्यवस्था प्रणालीबाट काम गरेको उनले बताइन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालका अनुसार, डिजिटल सेवाका लागि सबै वडामा स्वयंसेवक नियुक्ति गरेर काम अगाडि बढाएको र प्रविधिमैत्री पालिका बनाउन थालिएको उनले बताए ।

देशविदेशमा रहेका नागरिकलाई सेवा दिने उद्देश्यले काम सुरु गरेको उनको भनाइ छ ।

दाङका कानुन व्यवसायी अर्जुन अधिकारीले पालिकाबाट दिइने न्याय सेवालाई प्रविधिसँग जोडेर अघि बढाएमा सेवा लिन र दिन छिटोछरितो हुने बताउछन् । सेवालाई प्रविधिसँग जोड्दा पारदर्शिता, सुशासन कायम गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ ।

 

विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला महाकुम्भ आजवाट सकिदै, ६५ करोड भन्दा वढीद्धारा स्नान

विश्वकै सबैभन्दा ठलो धार्मिक मेलाको रुपमा देखिएको भारतको प्रयागराजस्थित महाकुम्भ आज वाट सकिदै छ । महाशिवरात्रीको दिन आज तिर्थालुहरु अन्तिम अमृत स्नान गर्दै छन । शिवरात्री खवसरमा आज पनि त्याहा ठुलो संख्यामा तिर्थालुुहरु पुन सहभागी भएका छन । हिजो सम्ममा महाकुम्भमा  ६५ करोडले स्नान गरिसकेका थिए । गएको माघ १ देखि आज फागुन १४ गतेसम्म ४५ दिन सम्म यो पटक महाकुम्भ जुडेको थियो ।

भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरिसकेको मेला आयोजक संस्थाल हिजो नै जानकारी दिएका थिए । संसारको कुनै पनि स्थानमा यति धेरै संख्यामा मानिसहरूले स्नान गरेका छैनन् । ६५ करोडभन्दा बढी श्रद्धालुले सनातन आस्थाको डुबुल्की लगाएर धार्मिक र सांस्कृतिक एकताको अद्वितीय सन्देश दिएका छन् ।

अमेरिकाको जनसंख्याभन्दा दुई गुणा, पाकिस्तानको जनसंख्याको अढाई गुना र रूसको जनसंख्याको चार गुणाभन्दा बढी श्रद्धालुले डुबुल्की लगाएका छन् ।

भारतको केन्द्रिय सरकार र उत्तर प्रदेशको प्रदेश सरकारले यो पटकको महाुकुम्भलाई विश्वव्यापी प्रचारप्रसार गरेका थिए । जसमा विश्वका कयौन प्रतिष्ठित व्यक्तिहरु समेत सहभागी थिए । भुटानका राजा देखि विश्वका ठुुला व्यापारिक तथा प्रतिष्ठित व्यक्तिहरु स्नान गरेक छन । भारतका लागी विभिन्न ७३ देश राजदुतहरु समेत महाकुम्भमा स्नान गरेका थिए ।

यो पटकको महाकुम्भमा नेपालबाट समेत उच्च संख्यामा सहभागीता देखिएका छन । नेपालवाट यो पटक ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । भारत वाहेक अन्य देशवाट तीन करोड भन्दा वढीको सहभागीता रहेको तथ्यांकहरुले देखाएका छन । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।

प्रयागराजका स्थानीय बासिन्दा पनि ठूलो संख्यामा स्नान गर्न आउँदैछन्,” महाकुम्भका एसएसपी राजेश द्विवेदीले भनेका छन्, “त्यसैले हामी रातिदेखि नै भक्तजनहरूको ठूलो भीड देखिरहेका छौँ ।”

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तजनहरूलाई शुभकामना दिएका छन् । “प्रयागराजको महाकुम्भ–२०२५ मा भगवान भोलेनाथको पूजामा समर्पित महाशिवरात्रिको पवित्र स्नान पर्वमा आज त्रिवेणी संगममा आस्थाको स्नान गर्न आएका सबै पूजनीय सन्त, कल्पवासी र भक्तहरूलाई बधाई छ,” उनले भनेका छन् ।

प्रतिनिधिसभा बैठकमा ‘ग्रे लिस्ट’बारे सरकारको ध्यानाकर्षण

सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसदमा सरकारको जवाफ माग गरिएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद उदयशमशेर जबराले नेपाल एफएटिएफको ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन भइरहेका कामबारे सरकारसँग जवाफ माग गर्नुभयो । “मुख्यगरी सहकारी क्षेत्रको नियमन कमजोर भएका कारण नेपाल एफएटिएफको ग्रे लिस्टमा परेको छ । सहकारीको नियमन बढाउने र चाँडो ग्रे लिस्टबाट बाहिर निस्कन नेपालको योजना के छ ? यसबारे संसदमा जानकारी गराइयोस्”, उहाँले भन्नुभयो ।

नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) मा ‘डबल बी माइनस’ प्राप्त भएको र दक्षिण एसियाली अधिकांश मुलुकको तुलनामा यो राम्रो रहेकाले नेपालले यसबाट लाभ लिनसक्नुपर्ने सांसद जबराको भनाइ थियो । यस्तै उहाँले कान्ति लोकपथ निर्माणमा भएको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जबराले गत असोजमा बाढी र पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग निर्माणको कार्यलाई शीघ्रता दिनुपर्ने बताउनुभयो । विभिन्न सडकखण्ड निर्माणमा ढिलाइ भइरहेको, जथाभावी बाटो खन्दा बाढी पहिरोको जोखिम बढेकोलगायत विषय उहाँले संसदमा उठाउनुभयो । गत असोजमा गएको बाढी र पहिरोबाट भएको क्षतिको मूल्याङ्कन गरी ती स्थानमा पुनर्निर्माणको काम शीघ्र गर्न सांसद जबराले सरकारसँग आग्रह गर्नुभयो ।

 

 

पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद विधेयक

सांसदहरुले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकायका रूपमा आमसञ्चार परिषद स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ । पत्रकारिता पेसालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक महत्त्वपूर्ण हुने उहाँहरूको कथन छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयकमाथि धारणा राख्ने क्रममा सांसदहरूले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकाय जरूरी रहेको बताउनुभयो । स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवर्धन गर्दै पत्रकारितामा पेसागत आचरण कायम राख्नका लागि मिडिया काउन्सिलको स्थापना गर्ने उद्देश्यसहित यो कानुन तय गरिएको हो ।

विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद रघुजी पन्तले पत्रकारिता क्षेत्रमा अहिले आचारसंहिता उल्लङ्घन भएको छ वा छैन भनेर प्रेस काउन्सिल प्रभावकारी रूपमा हेर्न नसकेकाले मिडिया काउन्सिललाई अधिकारसम्पन्न र बलियो बनाइनुपर्ने बताउनुभयो । काउन्सिलले सञ्चार मन्त्रालयको शाखाका रूपमा राख्न नहुने धारणा उहाँको छ ।

विगतमा सर्वोच्च अदालतको न्यायाधीश प्रेस काउन्सिलमा रहने व्यवस्था रहेको स्मरण गर्नुहुँदै उहाँले अहिलेको प्रेस काउन्सिलको संरचना उपयुक्त नरहेको समेत बताउनुभयो । “पत्रकार आचार संहिता कार्यान्वयन गर्ने विषय गम्भीर हो । गरिमामय संस्था भएन भने उसले सक्दैन । नैतिक बल राख्ने सञ्चार परिषद् आवश्यक छ”, उहाँले भन्नुभयो ।

अर्का सांसद सांसद सूर्यबहादुर थापा क्षेत्रीले सञ्चार क्षेत्रलाई दुरूपयोग गर्ने प्रवृत्ति बढेको बताउनुभयो । स्वच्छ, स्वस्थ र विश्वसनीय पत्रकारिताका लागि यो परिषद् आवश्यक रहेको उहाँको भनाइ छ । त्यस्तै, प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रका आजका चुनौती सम्बोधन गर्न नसकेका कारण परिषद्को परिकल्पना गरिएको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रको व्यवस्थित निगरानी गर्ने संयन्त्रका रूपमा यो निकायले काम गर्नसक्नुपर्ने बताउनुभयो ।

अर्का सांसद ज्ञानबहादुर शाहीले विधेयकको दफा २५ मा कोष व्यवस्थापनका लागि आर्थिक अनुदान लिने विषय र सञ्चार माध्याममा विदेशी लगानी ल्याउन सकिने प्रावधान अरू कानुनसँग बाझिएको बताउनुभयो । सञ्चार माध्याममा वैदेशिक लगानी खुला नगरिएकाले यस विषयमा पुनर्विचार गर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद किरणकुमार शाहले विधेयकले आमसञ्चार क्षेत्रले नागरिकलाई सूचित गर्दै सरकारलाई उत्तरदायित्व बनाउन सहयोग गर्न र आमसञ्चार क्षेत्रलाई पारदर्शी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गलत सुचनाले समाजमा अविश्वासको वातावरण तय हुन्छ । विधेयकले पेसागत सुरक्षाको ग्यारेन्टी तथा सूचनाको हकलाई सुनिश्चित गर्न विधेयकले सहयोग गर्छ । केही अस्पष्ट प्रावधान सुधार गर्न छलफल आवश्यक छ ।”

सांसद रञ्जुकुमारी झाले सामाजिक सदभावका लागि आमसञ्चार विधेयकले सहयोगी हुने बताउनुभयो । “धेरै राम्रा पक्ष हुँदा हुँदै पनि केही खराब पक्ष पनि छ । सरोकारवालासँग छलफल गरेर सुधार गर्नुपर्छ । यो विधेयक नियन्त्रणका लागि होइन नियमनका लागि बनोस् । होस्, प्रेस स्वतन्त्रतामा प्रतिकुल असर पुग्ने काम नहोस्,” उहाँले भन्नुभयो ।

सांसद विमला सुवेदीले यो विधेयकले आमसञ्चारलाई व्यवस्थित गर्न सकिने बताउनुभयो । “परिषद्लाई स्वतन्त्र, निष्पक्ष बनाउन संरचना बनाउनुपर्छ । सामावेशी परिषद् बनाउन विधेयकमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “आमसञ्चारको माध्यमलाई विश्वासिलो र पारदर्शी बनाउन विधेयकले सहयोग गरोस् ।” सांसद विनिता कठायतले विधेयकले स्वस्थ्य तथा मर्यादित पत्रकारिता विकासका लागि होइन यो आफ्नो विरूद्ध समाचार रोक्नका लागि प्रयोग हुने सम्भावना बोकेको धारणा राख्नुभयो ।

सांसद डा। चन्दा कार्की भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै, पत्रकारितालाई मर्यादित, स्वतन्त्र र जिम्मेवार बनाउने विधेयकको लक्ष्य भए पनि केही कमजोरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही प्रावधानले स्वतन्त्र पत्रकारितामा नियन्त्रणको आशङ्का छ । संसदमा पुग्दा मुल भाव भङ्ग भएको, विज्ञकोे सुझाव तोडमोड गरिएको भन्ने छ । यस्तो परिवर्तन किन आवश्यक परेको हो ?” उहाँले भन्नुभयो, “राज्यले पत्रकारितालाई नियन्त्रण गर्नुभन्दा पनि नियमन गर्न उचित हुन्छ ।”

सांसद शिशिर खनालले यो विधेयकले संविधानले सुनिश्चितता गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्छ की गर्दैन ? स्वच्छ र जवाफदेही पत्रकारिता विकास गर्छ की गर्दैन ? भन्ने बहस आवश्यक रहेको बताउनुभयो । उहाँले यो परिषद्को साङ्गठनिक संचनामा सरकार हाबी भएकाले पत्रकारितालाई स्वतन्त्र र निष्पक्ष राख्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

सांसद ईश्वरीदेवी न्यौपानेले विधेयकमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्ने र मिडिया सामग्रीमा तथ्यमा आधारित सम्प्रेषण गर्नुपर्ने र संवेदनशील मुद्दामा सन्तुलित र निष्पक्ष जानकारी प्रदान गर्न र नकरात्मक प्रचारबाट बच्न मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले परिषद्लाई जति विश्वसनीय बनाउन सक्यौँ त्यति नै प्रभावकारी बन्ने बताउनुभयो ।

सांसद माधव सापकोटाले मिडिया क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइनुपर्ने संविधानले नै तय गरेको बताउँदै सञ्चार जगतमा केही समस्या भए पनि सबै सञ्चार माध्यम र सञ्चारकर्मीलाई एउटै डालोमा नहेर्न आग्रह गर्नुभयो । सांसद ठाकुरप्रसाद गैरेले विधेयकलाई समर्थन गर्दै थप समृद्ध बनाउनुपर्ने बताउनुभयो । सांसद मेटमणी चौधरीले यो विधेयकले सञ्चारमाध्यममाथि सरकारी अङ्कुश लगाउने प्रयास भएको जस्तो देखिने बताउनुभयो ।

सांसद अशोककुमार चौधरीले विधेयकले पत्रकारिता क्षेत्रको नियमन सुरक्षा, र पत्रकारिताको मर्यादा सुनिश्चित गर्न सक्ने बताउनुभयो । “पत्रकारितालाई मर्यादित र जिम्मेवारी बनाउन आवश्यक छ । तर विधेयकले पत्रकारिताको स्वतन्त्रता माथि नियन्त्रण गर्न हुँदैन,” उहाँले भन्नुभयो, “सरकारको आलोचना गर्ने पत्रकारलाई अनावश्यक हस्तक्षेप रहन सक्छ । विधेयकले पत्रकारको कर्तव्यलाई ध्यान दिएको तर अधिकारका विषयमा कम ध्यान दिएको छ ।”

सांसद ज्ञानु बस्नेत सुवेदीले विधेयकको संरचना र कार्यविधि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । अर्का सांसद सहराज अहमद फारूकीले आमसञ्चार परिषद् विधेयक २०८१ मा सञ्चार क्षेत्रको स्वतन्त्रता, निष्पक्षता कायम राख्नुपर्ने सुझाव दिनुभयो । “पत्रकार सुरक्षा र कल्याण तथा अधिकारका लागि विशेष प्रावधान गरेमा उनीहरूको पेसागत सुरक्षा हुन सक्छ,” उहाँले भन्नुभयो ।

सांसद नागिना यादवले सबै मिडियाको उचित व्यवस्थापन गर्न सकेमा मात्रै विधेयकको कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । “परिषद्मा विज्ञहरू पठाउनुपर्ने व्यवस्था हुनुपर्छ । राजनीतिक आस्थाको आधारमा नियुक्ति गरिनुहुँदैन,” उहाँले भन्नुभयो ।

सांसद सुशीला सिर्पाली ठकुरीले आमसञ्चार परिषद् विधेयक २०८१ मा सरकारको प्रत्यक्ष नियन्त्रण हटाउनुपर्ने बताउनुभयो । सांसद निशा डाँगीले विधेयकमा स्वतन्त्र अर्धन्यायिक रूपमा काम गरिरहेको प्रेस काउन्सिललाई सरकारको नियन्त्रणमा राख्न खोजिनु आपत्तिजनक रहेको बताउनुभयो । “सरकारको प्रभावमुक्त बनाउँदै स्वतन्त्र पत्रकारितलाई प्रवर्धन गर्न विधेयक ल्याउनुपर्छ । स्वयत्त निकायको रूपमा पनि विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो । सांसद डा।तोसिमा कार्कीले सञ्चार माध्यमलाई मर्यादित, थप जिम्मेवार बनाउन, उत्तरदायी बनाउनका लागि विधेयक आए पनि यसमा भएका सञ्चार क्षेत्र अङ्कुश लगाउने प्रावधानमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद प्रेमबहादुर महर्जनले विधेयकले सञ्चारकर्मीको हकहित र पेसागत सुरक्षामा केन्द्रित रहेर विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद सुनिता बरालले जवाफदेयी पत्रकारितालाई प्रवर्धन गर्नेगरी विधेयक आउनुपर्ने बताउनुभयो । “नियुक्ति लगायतका व्यवस्थालाई थप स्पष्ट पार्नुपर्छ । पदलाई न्याय हुने गरी पदको व्यवस्था गर्ने गरी विधेयक ल्याउनुपर्छ,” उहाँले भन्नुभयो ।

 

 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।

मन्त्री परिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एकजनालाई बढुवा गरेको हो । साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गरेको छ ।

सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गरेको छ ।

देश विकास हुँदैछ, युवा निराश हुनु पर्दैन- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभएको हो ।

उहाँले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।

“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले एसइइमा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउनुभयो । आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले यसबिचमा प्रभावकारीरुपमा काम हुन नसकेको बताउनुभयो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो ।

 

परराष्ट्रमन्त्री डा देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा। देउवाले सो सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरूसँग साइडलाइन भेटवार्ता गर्नुभएको छ ।

ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपालले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवम् सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले नेपालका ती उम्मेदवारीमा सहयोगका लागि उहाँहरूलाई आग्रह गर्नुभएको छ ।

साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने योजना बनाएकाले त्यसमा सहभागिताका लागि पनि आफ्ना समकक्षी तथा नेताहरूलाई आमन्त्रण गर्नुभएको छ ।

त्यसैगरी, भेटवार्ताका क्रममा मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरू तथा मन्त्रीहरूसँग आग्रह गरिरहनुभएको छ ।

यसैक्रममा सोमबार मन्त्री डा देउवाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ता गर्नुभयो । भेटमा उहाँले नर्वेले नेपालको शान्ति प्रक्रियाका साथै नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले नेपालले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायका बारेमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएकाले त्यसमा सहयोगका लागि पनि नर्वे सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

साथै नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई पर्ने सहयोगका लागि पनि मन्त्री डा। देउवाले नर्वे सरकरको सहयोगको अपेक्षा गर्नुभयो ।

त्यसैगरी हिजो नै मन्त्री डा देउवाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरुका बीचमा जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका एजेन्डाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा रूपमा अघि बढाउने विषयमा कुराकानी भएका थियो ।

त्यसैगरी मन्त्री डा देउवाले फिलिपिन्सका उपविदेशमन्त्री चार्ल्स सि जोसेसँग पनि भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबिच नेपाल फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका बारेमा कुराकानी भएको थियो ।

फिलिपिन्ससँग जलवायु परिवर्तनका ऐजेन्डामा दुवै देश आगामी दिनमा साझा ऐजेन्डाका साथ कसरी अघि बढ्ने भन्ने विषयका साथै अरू पनि साझा हितका बारेमा कुराकानी भएको थियो ।

यी भेटहरूमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायतको पनि उपस्थिति रहेको थियो ।

यसअघि मन्त्री डा देउवाले सोमबार नै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाल आगामी सन् २०२७ देखि २०२९ को कार्यकालका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषदको सदस्यको उम्मेदवारी घोषणा पनि गर्नुभएको थियो ।

उहाँले सो सत्रलाई सम्बोधन गर्ने क्रममा मानवअधिकारको संरक्षण र सम्वर्धनका क्षेत्रमा नेपालले व्यक्त गर्दै आएको प्रतिबद्धताको चर्चा गर्दै नेपालले सदस्य पदमा दिएको सो उम्मेदवारीमा सहयोगका लागि सबै सदस्य राष्ट्रहरूलाई आग्रह पनि गर्नुभएको थियो ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा जारी रहेको राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका मन्त्री तथा नेताहरूको सहभागिता रहेको छ ।

सो सत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा। देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता महाशाखा प्रमुख सहसचिव राजेन्द्र थापासहित परराष्ट्र मन्त्रालय र जेनेभास्थित नेपाली स्थायी नियोगका अधिकारी सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।

राष्ट्रसङ्घीय मानवअधिकार परिषदको यस उच्चस्तरीय सत्रमा सहभागी विश्वका नेता तथा मन्त्रीहरूले मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालको भूमिका तथा शान्ति प्रक्रियामा नेपालले अपनाएको मोडल उदाहरणीय भन्दै सराहना गरेका थिए ।

नेपालको राष्ट्रिय मानवअधिकार आयोगलाई गानरीले स्थापनादेखि नै ‘ए ग्रेड’ मा प्रमाणीकरणमा गर्दै आएको विषयमा पनि यहाँ उपस्थित विभिन्न देशका प्रतिनिधि तथा मानवअधिकारवादी नेताहरूले चर्चा गरेका थिए ।

 

 

 

राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । शिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो ।

नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बिच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

राष्ट्रिय सेवा दल (एनसिसी) बाट प्रदान गरिने तालिम प्रशिक्षणले युवाहरूलाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रुपमा रूपान्तरण गरिर्दै आएको छ । एनसिसीले असल अभ्यासको आदान–प्रदानसहित युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्धनलाई प्राथमिकतामा राखेको छ ।

यही फागुन ९ गते नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेको छ । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भूूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी हुनुुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

 

 

 

 

 

 

भारतका ६ जना पूर्वस्थल सेनाध्यक्षहरु नेपालमा

भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपालमा आउनुभएको छ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उहाँहरु मङ्गलबार काठमाडौँ आइपुग्नु भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका मानार्थ महारथीबाट सम्मानित समेत हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, डा विजय कुमार सिंह, दलवीर सिंह सुहाग, डा मनोज मुकुन्द नरवणे, र मनोज पाण्डे नेपाल आइपुग्नुभएको हो ।

उहाँहरु पशुपतिनाथ मन्दिरमा दर्शन गरी नेपाली सेनाले काठमाडौँको टुडिँखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको २६२ औँ वार्षिक उत्सव विशेष समारोहमा सहभागि हुनुहुने छ ।

नेपाल भ्रमणका व्रmममा उहाँहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यव्रmम रहेको नेपाली सेनाले जनाएको छ ।