Page 170 – Nepalboli

काठमाडौंमा दुई महिनासम्मका लागि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौंको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपास विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, यातायात, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।

 

 

यो संविधान जननिर्वाचित संविधानसभाले बनाएको हो- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएको बताउनुभएको छ। उहाँले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताउनुभएको छ।

सुदूरपश्चिम प्रदेशसभाका आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गर्नुभयो।

उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट गर्नुभयो। उहाँले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गर्नुभयो।

“पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएका छ। कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ रु जनताले मानिदिन परेन ?”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रुपमा हुनुहुन्छ। अरु कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?”

प्रधानमन्त्री ओलीले अहिले दुई ठुला दलको सहमति बमोजिम सरकार बनेको र आफूहरुको सहमति बमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनुभयो।

 

 

 

 

 

 

 

बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको जोड

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नहुनेमा जोड दिनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आज बेग्लाबेग्लै भएका छलफलका उहाँले असङ्ख्य योजना तथा कार्यक्रम बजेटमा राख्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सकिएका ठुला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिनुभयो ।

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनुपर्ने र एक पटकका लागि बीउपुँजी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव, सङ्घीय मामिला सचिवगायत सहभागी हुनुहुन्थ्यो ।

 

महिला, हिंसा र बलात्कारका विषयमा जवाफ दिन सरकारलाई रुलिङ

राष्ट्रियसभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । सभाको तर्फबाट आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शून्य र विशेष समयमा सांसदहरूले सभाको बैठकमा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारलगायतका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

बैठकमा अध्यक्ष दाहालले शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आई जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा साथै शून्य समय र विशेष समयमा मान्य सदस्यहरूले आफ्ना भनाइ राख्ने क्रममा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आई जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्दछु ।’’

राष्ट्रियसभाको अर्को बैठक चैत्र ४ गते सोमबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

जागरण अभियानले जनतामा माओवादीप्रति भरोसा बढाएको छ- अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताउनुभएको छ। नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गर्नुभएको हो।

सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उहाँले बताउनुभयो।

“हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए। तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन्। हामीले प्रचारप्रसार गर्नै परेन। मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ। ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो। यो कुरा जनताले राम्रोसँग बुझेका छन्,” उहाँले स्पष्ट पार्नुभयो।

हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा निर्माण रोकिएको हुलाकी राजमार्ग भारतसँग कुराकानी गरी हुलाकी राजमार्गको उद्घाटन आफैंले गरेको थिएँ। त्यसैले अहिले पनि त्यहाँका जनतामा माओवादीप्रतिको विश्वास बलियो बनेको छ। माओवादीले जे भन्छ, त्यो गर्छ भन्ने अनुभूति उनीहरूमा छ।”

पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब ४ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले तीमध्ये जनताबिच राम्रो प्रभाव भएका नेताहरू पनि रहेका कारण पार्टी पंक्तिमा उत्साह थपिएको बताउनुभयो।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उल्लेख गर्नुभयो। अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको भन्दै माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो।

काठमाडौँको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उहाँले जानकारी दिनुभयो।

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‍ुगणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन।ु

लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए। उनले पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौतीसमेत दिए।

गृहमन्त्री लेखकले संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको बताए।

सरकार गठन पूर्वनेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीअनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने उनले बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत-नाममा राजावादीहरुको काठमाडौँमा शक्ति प्रर्दशन

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्के अवसरमा उनलाई राजवादी संघसंस्थाहरु तथा पार्टीहरुले सार्वजनिक स्वागत गर्दै आफनो शक्ति प्रर्दशन गरेका छन । खासगरि राप्रपाले पुर्वघोषीत आफनो आमसभा स्थगीत गरेर पुर्वराजा शाहलाई स्वागत गर्न आफना समर्थकहरुलाई काठमाडौको विमानस्थलमा आउन अपिल जारी गरेका थिए । त्यस पछि उक्त कार्यक्रम प्रति समर्थन जनाउदै दुुर्गा प्रसाई, कमल थापा लगायतको समुहले त्यसमा सामेल हुने घोषणा गरेका थिए ।

आईतवार दिउसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले शाहलाई स्वागत गरेका थिए ।

पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो ।

राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।

पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आउनुभएको हो ।

पछिल्लो समयमा राप्रपा लगायतका राजवादी समर्थक पार्टी तथा संघसंस्थाहरुले देशभरका विभिन्न ठाउहरुमा प्रर्दशनहरु गर्दै आएका छन ।

 

 

 

सामुदायिक वनमा महिला नेतृत्वको सफल अभ्यास

रूपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो ।सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्त्वपूर्ण पाटो बनेको छ । हस्तान्तरणको समयदेखि हालसम्म वनलाई महिला नेतृत्वले हाँकिरहेका छन् ।

रूपन्देहीको देवदह–९ मा रहेको यो सामुदायिक वन दुई सय ३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । देवदह–९ मा वन कार्यालय रहे पनि वडा नं ९ र १० का चार सय ८० घरधुरी उपभोक्ता यसमा समेटिएका छन् । वनबाट वन पैदावरसँगै स्थानीयको आवश्यकता पूरा गर्दै महिलाहरूको आत्मविश्वास र आत्मबल बढाएको सामुदायिक वनका अध्यक्ष रुका सापकोटाले बताउनुभयो । महिलाको समूहले वन जोगाउँदै स्थानीयका आवश्यकता पूरा गरिरहेको उहाँले बताउनुभयो । “नेतृत्वसँगै सामाजिक उत्तरदायित्वका काम गरेका छौँ”, उहाँले भन्नुभयो, “महिलाका लागि अचार बनाउने तालिम, क्षमता विकासका विभिन्न तालिम प्रदान गरेका छौँ । यसबाट महिलाको आर्थिक पाटो पनि बलियो बन्न सहज भएको छ ।”

वन समितिले वनलाई पर्या–पर्यटनसँग जोड्ने योजना बनाएर ‘बोटानिकल गार्डेन’को अवधारणा साधारणसभाबाट समेत पारित गरिएको उहाँले बताउनुभयो । बढ्दो आधुनिकताले च्यापिरहेको समयमा भावी पुस्तालाई बोटबिरुवा र पर्यावरणका बारेमा जानकारी हुने भएकाले यो योजना अघि सारिएको छ । वन समितिले स्थानीयलाई तरकारीका बिरुवा निःशुल्क उपलब्धसमेत गराउँदै आएको छ । यसबाट घरमा दैनिक प्रयोग गरी बढी भएको तरकारी बिक्री गरेर आम्दानी हुँदा स्थानीय महिला खुसी भएको रुकाको भनाइ छ । अध्यक्ष रुकाभन्दा अगाडि यस सामुदायिक वनको नेतृत्व माया गलामी र रुक्मा चौधरी गरिसक्नुभएको छ । अवसर पाउँदा महिलाले जुनसुकै काम सफल रूपमा गर्न सक्छन् भन्ने गतिलो उदाहरण बनेको रुकाले बताउनुभयो ।

यस्तै देवदह वडा–७ मा रहेको सिर्जना सामुदायिक वनमा पनि सम्झना दुवे अध्यक्ष हुनुहुन्छ । विसं २०५१ मा स्थापना भएको यस सामुदायिक वनमा २०४९ सालमा वन ऐन आएसँगै संरक्षण गर्दै हालै अध्यक्ष बनेको सम्झना दुवेले बताउनुभयो । पहिले १९ हेक्टर क्षेत्रफलमा रहेको वन हाल विभिन्न कारणले १४ हेक्टरमा सीमित भएको अध्यक्ष दुवेको भनाइ छ । यस सामुदायिक वन क्षेत्रभित्र २०७३ सालमा ‘यशोधरा चिल्ड्रेन पार्क’ निर्माण गरिएको छ । पार्कमा बुद्धसँग सम्बन्धित महामाया, यशोधरा, प्रजापतिको मूर्ति स्थापना गरेर अवलोकनका लागि खुला गरिएको अध्यक्ष दुवेले जानकारी दिनुभयो ।

सामुदायिक वनको १५ सदस्यीय समितिमा उहाँसँगै आठ महिलाको सहभागिता छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त रु १० लाख बजेटबाट पार्कलाई थप व्यवस्थित गरी भगवान् गौतम बुद्धको मावली स्थानका रूपमा परिचित देवदहलाई आगामी दिनमा बौद्धमय बनाउने अध्यक्ष दुवेले बताउनुभयो । “अब पार्कलाई बौद्धमय बनाउँछौँ”, उहाँले भन्नुभयो, “हरेक बुद्धजयन्तीभन्दा पाँच दिन अगाडि यशोधरा दिवस मनाउँदै आएका छौँ । यो विश्वमा नै पहिलो हो ।”

जिल्लाको कञ्चन गाउँपालिकाको पहिलो खोला सामुदायिक वनको नेतृत्व लक्ष्मी रानाले गर्दै आउनुभएको छ । कञ्चन वडा नं १० मा रहेको वन एक सय २५ दशमलव ९९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस सामुदायिक वनमा पालिकाका वडा नं १० र ११ का उपभोक्ता जोडिएका छन् । हालसम्म तीन कार्यकाल अध्यक्ष बनेर नेतृत्व गरिरहनुभएकी लक्ष्मीले वनकै माध्यमबाट विभिन्न सामाजिक कामहरू गरेको बताउनुभयो । वन संरक्षणसँगै यसकै माध्यमबाट महिलाको आर्थिक अवस्था बदल्न सहयोगी बनेको अध्यक्ष राना बनाउनुहुन्छ । “वन संरक्षण त भएकै छ । यससँगै घुम्ती कोष सञ्चालन गरी विपन्न परिवारका महिलालाई आर्थिक अवस्थामा सहजता प्रदान गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “घुम्ती कोषमार्फत एक रुपैयाँ व्याजमा ऋण दिने र उक्त रकम एक वर्षमा फर्काउनुपर्ने व्यवस्था गरेका छौंँ ।”

समूहकी अध्यक्ष लक्ष्मीका अनुसार घुम्ती कोषको रकमबाट महिलाले आयआर्जन हुने खालका व्यवसाय सञ्चालन गर्दै आएका छन् । उहाँका अनुसार घुम्ती कोषको ऋण सापटीबाट महिलाले कुखुरा, बाख्रा, बङ्गुर, भैँसीपालन गर्ने गरेको र कतिपयले सानोतिनो व्यापार गरी आर्थिक अवस्था सुधार गर्दै आएका छन् । त्यसका साथै वनकै माध्यमबाट सडक बत्तीको समेत व्यवस्था मिलाएको बताउनुभयो । विभिन्न समयमा हुने कटान र ढलापडा काठ बिक्री गरेर वनको आम्दानी बढाउँदै लगिएको समेत अध्यक्ष रानाले बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको शान्ति सिर्जना वनमा रेखा पौडेल अध्यक्ष हुनुहुन्छ । चारैतिरबाट बस्तीको बिचमा रहेको यो वन १८ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब दुई सय ९३ उपभोक्ता रहेको यस वनमा अध्यक्षसँगै सबै महिला सदस्य रहेका छन् । वन क्षेत्र यसै पनि जोखिमको क्षेत्र भएकाले महिलालाई मात्र गाह्रो हुने भएकाले अब आगामी योजनामा पुरुषलाई पनि सहभागी गराउने अध्यक्ष पौडेलले बताउनुभयो । एघार सदस्यीय महिला समितिमा उपभोक्ता भने पुरुषहरू पनि छन् । विभिन्न समयमा हुने कटान र ढलापडा नै वनको मुख्य आम्दानीको स्रोत हो । यसबाहेक अन्य कुनै पनि आर्थिक स्रोत नहुँदा महिलाहरूको क्षमता वृद्धिका कामहरू गर्न नसकेको पौडेलले गुनासो गर्नुभयो ।

महिलाहरूले नेतृत्व गरेका रूपन्देहीका सामुदायिक वनहरू सात वटा छन् । यस नगरपालिकाभित्र रहेका सिर्जना सामुदायिक वन, जनप्रिय सामुदायिक वन, चेतना सामुदायिक वन, महामाया सामुदायिक वन, हरियाली सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् । चेतना सामुदायिक वनमा सम्झना चौधरी, महामाया सामुदायिक वनमा कमला न्यौपाने र हरियाली सामुदायिक वनमा सरस्वती चौधरीले सामुदायिक वन समितिको नेतृत्व गर्दै आउनुभएको सब–डिभिजन वन कार्यालयले जनाएको छ । उता कञ्चन गाउँपालिकामा पनि एक सामुदायिक वनमा महिलाको नेतृत्वमा वन समिति बनेको छ । यस्तै पहिलो खोला सामुदायिक वनमा महिला अध्यक्ष लक्ष्मी राना रहेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुजन धिमालले बताउनुभयो ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको रुद्रपुर धमिनाताल सामुदायिक वनमा पनि महिला अध्यक्ष पार्वती थापासहितको वन समिति रहेको अधिकृत धिमालले जानकारी दिनुभयो । रूपन्देहीका वनमा महिला अध्यक्ष मात्र हैन जिल्लाका दुई वटा वनको समितिमा सबै महिला सदस्य रहेका छन् । कञ्चन गाउँपालिकामा एक सय ८५।७ हेक्टर क्षेत्रफलमा फैलिएको पिपरीचापा महिला सामुदायिक वनमा सिङ्गो समितिमा महिलाहरू छन् । यसमा रेउकुमारी काउचा अध्यक्ष रहेको वरिष्ठ वन अधिकृत धिमालले बताउनुभयो ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको शान्ति सिर्जना सामुदायिक वनको सिङ्गो समिति नै महिलाको छ । २१।४२ हेक्टर क्षेत्रफलमा समेटिएको वनमा रेउकुमारी काउचा अध्यक्ष रहनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल रूपन्देहीका अध्यक्ष श्यामकला आचार्यले महिला नेतृत्वका सामुदायिक वनमा आर्थिक पारदर्शी हुने बताउनुभएको । “महिलाहरु इमानदार हुन्छन्, उनीहरुले नियम, कानुन, पद्धतिको अनुसरण गर्छन्” उहाँले भन्नुभयो, तर कतिपय पुरुष नेतृत्व भएको ठाउँमा आर्थिक सुशासन कमजोर रहेको देखिन्छ ।”

महासङ्घका अध्यक्ष आचार्यले वैज्ञानिक वन व्यवस्थापन हटिसकेको अवस्थामा पनि त्यसैलाई अनुसरण गर्नुपर्छ भनेर पुरुष नेतृत्वले भन्ने गरेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनमा धेरै काठ काट्न पाइने र त्यसैबाट फाइदा निकाल्न खोज्ने प्रवृत्ति हाबी भएको उहाँको भनाइ छ । शिवनगर सामुदायिक वनमा दोस्रोपटक सचिव बनेकी सुमित्रालाई पहिले वनकै कुरा थाहा पाउन मुस्किल हुन्थ्यो । तर अचेल भने बल्ल वनका कुरा थाहा हुन थालेको बताउनुभयो । कामको सन्दर्भमा पनि पुरुषको तुलनामा महिलाले आफ्नो जिम्मेवारी जसरी पनि पूरा गर्ने उहाँको भनाइ छ । डिभिजनल वन कार्यालय रूपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रविण बिडारीका अनुसार रूपन्देहीमा रहेका एक सय १० सामुदायिक वनमध्ये सात वटा सामुदायिक वनमा महिला अध्यक्ष छन् । त्यसैगरी जिल्लाका दुई वटा सामुदायिक वनमा सिङ्गो वन समिति महिलाको रहेको छ ।

 

 

 

 

 

 

 

 

पर्याप्त वर्षा नहुँदा उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उहाँले भन्नुभयो, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ ।

विश्वको सबैभन्दा बढी प्रदुषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सूचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।

भारतीय राजदूतावासद्धारा राजदूत आमन्त्रित गल्फ प्रतियोगिता २०२५ को आयोजना

काठमाडौँस्थित भारतीय राजदूतावासले गोकर्ण फरेस्ट रिसोर्टमा राजदूत आमन्त्रित गल्फ प्रतियोगिता २०२५ को आयोजना गरेको छ । शनिवार भएको सो कार्यक्रममा परिचित गल्फरहरू र सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र गल्फप्रेमीहरूको उपस्थिति थियो। भारतीइ राजदुत नवीन श्रीवास्तवले पुरस्कार विजेताहरू तथा सहभागिहरुको प्रशंसा गरे ।

यस्ता खेलकुद कार्यक्रमहरू मार्फत भारत र नेपालको सम्बन्धलाई बलियो बनाउने र नेपालको गल्फ समुदायलाई निरन्तर उत्प्रेरित गर्ने राजदुत श्रीवास्तवले इच्छा व्यक्त गर्नुभयो। नेपालको गल्फ समुदायमा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्नको लागि राजदूतले यस अवसरमा दुई आशाजनक गल्फरहरूलाई नेरु १,००,००० को चेक पनि प्रदान गर्नुभयो।

काठमाडौँस्थित भारतीय दूतावासले भारतीय राजदूत गल्फ प्रतियोगिता २०२५ का सबै विजेताहरूलाई बधाई समेत दिएका छन ।