काठमाडौंमा दुई महिनासम्मका लागि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौंको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपास विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, यातायात, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।

