Page 168 – Nepalboli

राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीशद्वारा वार्षिक प्रतिवेदन पेस

प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ। मङ्गलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन पेस गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा १३८ बमोजिम प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो।

 

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराउनुभयो ।

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उहाँले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताउनुभयो ।

“हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सिर्जना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर विविधताबिच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गर्नुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गर्नुभएको थियो ।

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो।

‘‘लोकतन्त्र जति प्रचण्डको हो त्यत्ति नै व्यक्ति ज्ञानेन्द्रको हो भन्ने मान्यता हामी सबै राजनीतिक दलले राखेका छौँ’’,उहाँले भन्नुभयो, ‘‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्नुहोस्।’’

राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत प्रचण्डले गर्नुभएको छ। उहाँले राजावादी सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गर्नुभएको हो। उहाँले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेल समेत मिसिएको बताउनुभयो। प्रचण्डले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन्। तर यस खालका चलखेल आजमात्र भएका होइनन्। नेपालमा यस्ता खालका चलखेल हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ।’’ उहाँले पूर्व राजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिनुभयो।

साढे सात सय विद्यार्थी पढने इनरुवास्थित त्रिभुवन माविको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण सुुरु

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागीएको सुनसरी जिल्लाको इनरुवा स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास आज गरिएको छ । विद्यालय भवनको शिलान्यास सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का सांसद तथा पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तव, र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा गरेका छन । शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २.४८३ करोड परियोजना लागतमा श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरिँदैछ ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत रहेको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र सुनसरीको इनरुवा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५५ छात्राहरू रहेका छन् ।

काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको कुरामा प्रकाश पार्नुभयो । यी परियोजनाहरू नेपालका सबै प्रदेशहरूमा फैलिएका छन् जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ । वहाँले वर्षौंदेखि रहिआएको भारत-नेपाल विकास साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

संविधान सभाका माननीय सदस्य, सुनसरीस्थित इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापनका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरूले निर्माण भइरहेको पूर्वाधारले सुनसरीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

 

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने

उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नुहुँदै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन थियो छ । उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ । त्यस्तै आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पेस गर्नुभएको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित सम्बन्धित समितिमा पठाइयोस्’ भनी पेस गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

रेडियो, टेलिभिजन, अनलाइन, डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चारमाध्यमको व्यवस्थापन एवं नियमनका लागि नयाँ कानुनी व्यवस्थासहित यो विधेयक ल्याइएको हो । विश्व प्रेस काउन्सिल, दक्षिण एसियाली प्रेस काउन्सिललगायत विश्वका अन्य देशका काउन्सिलहरूसँग सम्बन्ध स्थापना गर्नका लागि पनि यो कानुनले भूमिका खेल्ने जनाइएको छ ।

त्यस्तै, पत्रकारिताको क्षेत्रमा आएका परिवर्तन र प्रविधिमा भएको विकासको प्रयोगलाई आत्मसात् गर्नका लागिसमेत नयाँ संरचना आवश्यक रहेको सरकारको भनाइ छ । यो कानुन बनेपछि सबै मिडिया र पत्रकारलाई समेटी आचारसंहिता पालना गराउन वा अनुगमन गर्न मार्ग प्रशस्त हुने, प्रेस काउन्सिलको पुनःसंरचना हुनुका साथै भूमिका अझ प्रभावकारी हुनेलगायत काममा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

विधेयकले काउन्सिलको स्थापना तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थालाई संशोधन गरेको छ । त्यस्तै, पत्रकार आचारसंहिता जारी गर्नेसम्बन्धी व्यवस्था, आचारसंहिताको पालना, अनुगमन तथा कारबाहीसम्बन्धी व्यवस्था, प्रेस प्रतिनिधिसम्बन्धी व्यवस्था, काउन्सिलको कोष तथा लेखा परीक्षणसम्बन्धी व्यवस्था, कर्मचारीसम्बन्धी व्यवस्थालगायत विषयहरू विधेयकमार्फत परिमार्जित ढङ्गले ल्याउन खोजिएको छ ।

‘स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना गरिने’ विधेयकमा उल्लेख छ । काठमाडौँमा उपत्यकामा कार्यालय रहने यो संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वशासित एवम् सङ्गठित संस्था हुने र यसले कानुनी व्यक्तित्व प्राप्त गर्ने जनाइएको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै वनमन्त्री शाहीले संसद्बाट आएका सुझाव ग्रहण गर्दै यसलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । मोन्ट्रियल प्राटोकलको किगाली संशोधनलाई कार्यान्वयन गर्दा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै वातावरणसम्बन्धी मुद्दाहरू व्यवस्थापनमा नेपाललाई सहज हुने उहाँको भनाइ छ ।

 

 

 

४६.५ प्रतिशतले निर्यात वृद्धि

कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपियाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैँकको तथ्याङ्कले देखाएको छ ।

यता, आयाततर्फ भने आर्थिक वर्ष २०८१-८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामलरधान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पाट्र्स, खाने तेल, स्पञ्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपूर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१-८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ रुपियाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.९ प्रतिशत पुगेको राष्ट्र बैँकको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड रुपियाँ बराबरको भएको थियो ।

 

 

 

 

नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । मङ्गलबार नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को विन्दुमा कायम भएको छ ।

आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।

आज विकास बैँक समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैँकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक दशमलव ८९ र जीवन बिमा समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४९, लघुवित्त शून्य दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ९९, व्यापार समूह एक दशमलव ७९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैँक लिमिटेडको नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ ।

 

जुम्लामा आलु प्रदर्शनी मेला

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ । जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासंघको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्ण मन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो ।

मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु संकलन गरी प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

भूमि समस्या समाधान आयोगका विज्ञ–सदस्य सुमन आचार्यले जिल्लाका आलु कृषकलाई प्रोत्साहित गरी आलुको बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आलु किसानहरूको उल्लेख्य सहभागिता रहेको बताए । तिलाको ढिपु, हिमाको पाथरखोला, सिञ्जाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तीर्ख, तातोपानीको टोप्लालगायत उच्च भूभागमा उत्पादन हुने आलु संकलन गरी प्रदर्शनीमा राखिएको थियो ।

कृषि विकास कार्यालय प्रमुख अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आलुखेती बढी भएको र उत्पादकत्व पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०८०-०८१ मा दुई हजार दुई ४५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ३४ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको थियो ।

यसैगरी चालु आवमा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती भई ३५ हजार नौ सय ३० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सरकारको आम्दानीभन्दा खर्च बढी

सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ।

जसमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च रु एक खर्ब ६३ अर्ब ८१ करोड रहेको छ। यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने छ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ।

यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो। जसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व ७७ अर्ब २१ करोड रहेको छ।

यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा तीन खर्ब ५० अर्ब सात करोड नगद मौज्दात रहेको छ।

यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो। गत असार मसान्तसम्ममा सरकारी खातामा ८३ अर्ब ९९ करोड मौज्दात रहेको थियो।

चालु आवको सात महिनामा प्रदेश सरकारको कूल खर्च ५१ अर्ब ९० करोड र स्रोत परिचालन एक खर्ब एक अर्ब ८९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड रहेको छ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय चार प्रतिशतभन्दा बढीले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १०.०१ प्रतिशतले बढेको छ।

सरकारले पुर्वराजाको सेवासुविघा खोस्न सक्ने सिटौलाको चेतावनी

नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई आफूले नै नारायणहिटीबाट बिदा गरेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् ।

उनले सरकारले नै निर्णय गरेर नागार्जुन पठाएको भन्दै चाहेका बेला त्यहाँबाट पनि निकाल्न सक्ने चेतावनी दिए ।

‘राजाबारे अलिअलि चर्चा हुन्छ मैले भन्ने गरेको छु, किन धेरै चर्चा गर्नु हामीले, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ’, सिटौलाले भने, ‘सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे अहिले हटाइदिन सक्छ । सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले योबारेमा धेरै चर्चा गर्नु उपयुक्त होइन ।’

आइतबार काठमाडौंमा पूर्वराजाको पक्षमा देखिएको भीडलाई संकेत गर्दै उनले भने, ‘१५-२० हजार मान्छे सडकमा आउनु कुनै ठूलो कुरो होइन । धेरै चर्चा गरेर हामी आत्तिनुपर्दैन ।’

पार्टी र सरकारको बीचमा राम्रो सहकार्य हुनु आवश्यक रहेको उनको भनाइ थियो । संविधान संशोधन गर्न काँग्रेस तयार रहेको भन्दै नेता सिटौलाले संविधान संशोधन गरेर भए पनि जनतालाई सहज हुनुपर्ने बताए ।