सरकारले पुर्वराजाको सेवासुविघा खोस्न सक्ने सिटौलाको चेतावनी – Nepalboli

सरकारले पुर्वराजाको सेवासुविघा खोस्न सक्ने सिटौलाको चेतावनी

   २०८१ फाल्गुन २६, सोमबार  

नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई आफूले नै नारायणहिटीबाट बिदा गरेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् ।

उनले सरकारले नै निर्णय गरेर नागार्जुन पठाएको भन्दै चाहेका बेला त्यहाँबाट पनि निकाल्न सक्ने चेतावनी दिए ।

‘राजाबारे अलिअलि चर्चा हुन्छ मैले भन्ने गरेको छु, किन धेरै चर्चा गर्नु हामीले, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ’, सिटौलाले भने, ‘सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे अहिले हटाइदिन सक्छ । सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले योबारेमा धेरै चर्चा गर्नु उपयुक्त होइन ।’

आइतबार काठमाडौंमा पूर्वराजाको पक्षमा देखिएको भीडलाई संकेत गर्दै उनले भने, ‘१५-२० हजार मान्छे सडकमा आउनु कुनै ठूलो कुरो होइन । धेरै चर्चा गरेर हामी आत्तिनुपर्दैन ।’

पार्टी र सरकारको बीचमा राम्रो सहकार्य हुनु आवश्यक रहेको उनको भनाइ थियो । संविधान संशोधन गर्न काँग्रेस तयार रहेको भन्दै नेता सिटौलाले संविधान संशोधन गरेर भए पनि जनतालाई सहज हुनुपर्ने बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै