साढे सात सय विद्यार्थी पढने इनरुवास्थित त्रिभुवन माविको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण सुुरु
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागीएको सुनसरी जिल्लाको इनरुवा स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास आज गरिएको छ । विद्यालय भवनको शिलान्यास सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का सांसद तथा पुर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तव, र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा गरेका छन । शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २.४८३ करोड परियोजना लागतमा श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरिँदैछ ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत रहेको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र सुनसरीको इनरुवा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । यस विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीको क्षमता रहेको छ जसमध्ये ५५५ छात्राहरू रहेका छन् ।
काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको कुरामा प्रकाश पार्नुभयो । यी परियोजनाहरू नेपालका सबै प्रदेशहरूमा फैलिएका छन् जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ । वहाँले वर्षौंदेखि रहिआएको भारत-नेपाल विकास साझेदारीमा भएको वृद्धि, विस्तार र विविधीकरणप्रति खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकारको प्राथमिकताका आधारमा यो साझेदारीलाई थप सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
संविधान सभाका माननीय सदस्य, सुनसरीस्थित इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापनका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरूले निर्माण भइरहेको पूर्वाधारले सुनसरीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।
