Page 137 – Nepalboli

‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा सांसद गोकर्णराज विष्टले नागरिकका विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्नेगरी संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा बोल्ने क्रममा उहाँले संसद्को गरिमा कायम राख्दै राजनीतिक दल तथा सरकारले नागरिकको असन्तुष्टि चिर्नेगरी काम गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।

संसद्लाई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलोका रूपमा चित्रण गर्दै विष्टले संसद्को सञ्चालन संयमित, शिष्ट र अनुशासित ढङ्गले हुनुपर्ने बताउनुभयो । “यदि संसद्ले नागरिकमा आशा जगाउने गरी काम गर्न सक्यो भने त्यो नै लोकतन्त्रको मूल्य र विश्वासप्रतिको सम्मान हुनेछ”, उहाँले भन्नुभयो,“संसदमा विगतका अधिवेशनहरूबाट पाठ सिक्दै चालु अधिवेशनलाई परिणाममुखी बनाउनुपर्छ ।”

संसद् सञ्चालनमा विगतमा देखिने गरेको अवरोध र खिचातानीका कारण पनि नागरिकमा निराशा बढाइरहेको सन्दर्भमा सांसद विष्टले जनहितका लागि दलहरूबिच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । नागरिकमा देखिएको असन्तुष्टिलाई देखाएर अराजकता र अस्थिरता चाहने शक्तिहरू सक्रिय रहेकाले गणतन्त्र स्थापनापछि जनताले विकास र समावेशीताको प्रत्याभूति खोजिरहेको उहाँको धारणा थियो ।

नेपालको न्यून आर्थिक वृद्धि, कमजोर उत्पादकत्व, उच्च व्यापार घाटा, वैदेशिक रोजगारीको बढ्दो निर्भरता, शिक्षा प्रणालीको व्यावहारिक असान्दर्भिकता र स्वास्थ्य सुविधाको पहुँच अभावजस्ता मुद्दाहरूबारे सांसद् विष्टले संसद्को ध्यानाकर्षण गराउनुभयो । अर्थतन्त्र र विकासमा देखिएका समस्या समाधान गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आउनुपर्ने उहाँको सुझाव छ । “देशको उत्पादनसँग शिक्षा प्रणाली जोडिएको छैन । खाद्य सुरक्षामा समेत हामी आत्मनिर्भर छैनौँ । यस्तो अवस्थामा आयातमुखी उपभोग प्रवृत्तिले देशको अर्थतन्त्र झनै कमजोर बनाएको छ”, विष्टले भन्नुभयो ।

न्यून पुँजीगत खर्च र चालु खर्च बढ्ने प्रवृत्तिले आर्थिक रूपान्तरणमा चुनौती थपिएको उल्लेख गर्दै उहाँले यी प्रवृत्तिका कारण तीव्र विकास र समृद्धिप्रति जनताले राखेका आकाङ्क्षाहरू पूरा गर्न नसकिएको तर्क गर्नुभयो । यस्तै, तीन तहका सरकारबीच समन्वयको अभाव, सहकारी क्षेत्रको विकृति र न्याय प्रणालीको ढिलासुस्ती जस्ता कमजोरीबारे पनि उहाँले धारणा राख्नुभयो ।

संसद्को चालु बजेट अधिवेशन समस्या समाधानतर्फ केन्द्रित हुन सक्यो भने मात्रै संसद्प्रति जनताको विश्वास पुनःस्थापित हुने विष्टको बुझाइ छ । उहाँले संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले संविधान प्रतिकूल गतिविधि गर्न नहुने चेतावनी पनि दिनुभयो । लोकतन्त्रमा बहस र विमति स्वाभाविक हुने तर त्यसलाई संसदीय अभ्यासभित्रै समेटेर समाधान खोज्नु आजको आवश्यकता भएको विष्टको भनाइ छ ।

संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्ने र लोकतन्त्रलाई थप परिस्कृत गरिनुपर्ने उल्लेख गर्दै उहाँले पछिल्लो समय लोकप्रियतावाद र अराजकतावाद हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “जे पनि बोल्ने तर त्यसको जिम्मेवारी लिन नपर्ने स्थिति विभिन्न देशमा देखिएका छन् । नेपालको सन्दर्भमा पनि जे पनि बोल्ने, व्यवहारमा नउतार्ने प्रवृत्ति देखिएको छ”, विष्टले भन्नुभयो, “यो लोकप्रियतावादले नागरिकका आकाङ्क्षा पूरा गर्न सकेको छैन ।” अहिलेको सत्ता गठबन्धनको आयुबारे देखिएका अन्यौलताबारे उहाँले सरकारको आयु कति दिन रहन्छ भन्नेभन्दा पनि जनता र देशको हितमा कति काम गर्छ भन्ने महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

 

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताउनुभयो ।

उहाँले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिनुभयो । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो । उहाँले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गर्नुभयो ।

“मेटा भन्ने वित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने रु यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन रु त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन रु पर्छ नि ।,’’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘‘तीन पटक भयो । म आउने वित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अत्ति भर्खर म्याद सकियो । अब सात दिनभन्दा बढी दिन्न मैले । यसबिचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौं । देशभन्दा ठुलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र रु इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।”

उहाँले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराउनुभयो ।

 

भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री

भारतको जम्मु काश्मिरको पहलगाममा भएका आतङ्ककारी हमलाको बारेमा भारताक लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेर संवेदना प्रकट गरेका छन् । सो क्रममा मन्त्री जयशंकरले आतङ्ककारी घटनामा एक जना नेपालीको मृत्यु भएकोमा संवेदना प्रकट गरेका छन् ।

आतङ्कवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको थियो । त्यसमा मन्त्री जयशंकरले दुख व्यक्त गर्दै न्यौपानेका परिवार तथा नेपालीप्रति संवेदना प्रकट गरेका छन् ।

उनीहरूको बिचमा नेपाल-भारतको बिच रहेका समग्र सम्बन्धको बारेमा समीक्षा पनि गरेको भारतस्थित नेपाली दुतावासले जनाएको छ । साथै दुई पक्षीय सम्बन्धका विकासको बारेमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

वैशाख ९ गते भएको आतकंकारी हमलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर संवेदना प्रकट गरेका थिए ।

भारत सरकारद्वारा नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

भारत सरकारले नेपाललाई सिकल सेल रोग र थालेसिमिया विरुद्धको खोपको पहिलो खेप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई शुक्रवार हस्तान्तरण गरेका छन । नेपालका जनताको स्वास्थ्य र कल्याणलाई सहायता प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताको महत्व प्रस्तुत गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त खोप शुक्रवार हस्तान्तरण गरिएको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।

नेपाल सरकारको अनुरोधको प्रतिक्रियामा भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्दैछ । पहिलो खेपको खोपरऔषधिमा इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५५० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रेप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) समावेश रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूतले यी खोपहरू नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो । वहाँले भारत र नेपालबीचको गहिरो मित्रतालाई प्रकाश पार्नुका साथै पारस्परिक हितका क्षेत्रहरूमा सहयोग प्रदान गर्ने भारतको तत्परतालाई समेत थप प्रकाश पार्नुभयो ।

नेपाल सरकारको तर्फबाट खोपहरू ग्रहण गर्दै माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीले यी खोपहरूले जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको वर्णन गर्दै भारतको उदार सहायताको लागि कृतज्ञता व्यक्त गर्नुभयो । वहाँले भारतसँगको लामो समयदेखिको सहकार्य र यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमा गरेको योगदानलाई स्वीकार गर्नुभयो ।

भूकम्पको एक दशकः अझै सकिएन सात तले दरबारको पुनर्निर्माण

गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (सात तले दरबार) सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण अझै पूरा भएको छैन । पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल पुनर्निर्माण अघि बढाइएको छ ।

नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिबेला विदुर नगरपालिका–२ मा अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनर्निर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ ।

सात तले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्वार, पुनर्निर्माण, प्रवलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताउनुभयो । उहाँका अनुसार दरबारसहितको संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार र पुरातत्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनर्निर्माणपूर्वको काम भइरहेको छ ।

“दरबार पुनर्निर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ”, प्रमुख पाण्डेले भन्नुभयो, “गत भदौदेखि कार्यक्षेत्रमा आएको चिनियाँ प्राविधिकसहितको कामदारले काम सुरु गरेका छन् ।”

भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नुवाकोटको सात तले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्विक महत्त्वका विभिन्न आठ वटा संरचनाको जीर्णोद्वार पुनर्निर्माण एवम् प्रवलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ पक्षले दरबारको पुनर्निर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ ।

दुई देशबिच भएको समझदारीअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मेवारी पाएको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजबिच विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो । यद्यपि थप अवधि उल्लेख गरिएको छैन ।

पूर्ववत समझदारीअनुसार नै काम सुरु गरेको ४५ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । चिनियाँ प्राविधिकहरूको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्वारमार्फत पुनर्निर्माण गर्ने तयारी छ । बाँकी अन्य गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण, जीर्णोद्वार, प्रवलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ ।

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजयी हासिल गरेसँगै नुवाकोटमा दुर्गरत्न ९सात तले दरबार० निर्माण गर्नुभएको थियो । काठमाडौँ उपत्यका विजयी हुनुअघिसम्म पृथ्वीनारायण शाहले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आउनुभएको इतिहासमा उल्लेख छ । दरबारलाई नै उहाँले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका रूपमा नुवाकोट रहेको उल्लेख थियो ।

उक्त ऐतिहासिक दरबारसहितको संरचना विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो । दरबारसहितको संरचना पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्षले विसं २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई ९टेको दिएर० फर्किएको थियो ।

हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तुलजा (तलेजु) भवानीको मन्दिरको प्रवलीकरण अघि बढाइएको छ ।

 

 

बारपाकीले बिर्सन नसकेका भूकम्प

गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ। बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ। गहभरि आँसु पारेर धनमाया भन्छिन्, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ। त्यही दिन भूकम्प आउनुपरेको। आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो। भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ।”

धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ। धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ। ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन्। “आकास गर्जदा अझैँ पनि डर लाग्छ। गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ। मुटु नै चिसो बनाउँछ”, उनी भन्छिन्।

“भूकम्पले बारपाकीहरुको मानसिकतामा ठूलो धक्का पुगेको छ। वैशाख १२ पछि गएका पटकपटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठूलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ। ठूलो जनधनको क्षति गर्नेगरी वैशाख १२ गते भूकम्प गएको १० वर्ष बितिसकेछ”, घलेले भनिन्।

स्थानीय अर्की ५५ वर्षीय कमला गुरुङले २०७२ वैशाख १२ गते सम्झँदै भन्छिन्–“हामी त बारीमा काम गर्दै थियौँ। एक्कासी जमिन हल्लियो, एकाएक घरहरु भत्किन थाले। गाउँ पूरै धुलोको मुस्लोले ढाकियो।” भूकम्पका कारण आफूहरुको मानसिकतामा ठूलो चोट पुगेको गुरुङ बताउछिन्। “अहिले त नयाँ घर पनि बनाइसके”, उनले भनिन्, “तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन।”
वैशाख १२ को भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्याएको थियो। २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले मृत्यु भएको थियो भने झण्डै एक हजार ५०० निजी घरमा क्षति पुगेको थियो।

भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास पनि भएको छ। भूकम्पले बारपाकको स्वरुप नै परिवर्तन गरेको अर्का स्थानीय जीतबहादुर घले बताउछन्। “भूकम्पले विनाश त गर्‍यो तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ”, उनले भनिन्, “बारपाक भूकम्पको केन्द्रबिन्दु भएकै कारण यहाँ सबैको नजर पर्यो। हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ।” भूकम्पछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरु तीव्र रुपमा विकास भएको उनको भनाइ छ।

एक दशकको अवधिमा बारपाकमा निजी आवास पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ। पुनःनिर्माण गर्दा विगतमा परम्परागत ढुङ्गाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरु बनेको छन्।

 

९ महिनामा सप्तरीमा बने १३ वटा पक्की पुल

चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ। लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्र्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ। सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ।

शम्भुनाथ नगरपालिका–११ देवधारमा छ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन्।

यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ।

छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ। यो पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो। राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा छ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए।

सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ।

यस्तै सोही निर्माण कम्पनीले तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए।

यस्तै रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ। फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ। उक्त पुलको वित्तीय प्रगति ८३।५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ। उक्त पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो। शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिश भएको छ।

 

 

बारपाकवासी भन्छन्- ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’

गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवम् पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरूपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो । विक्रम संवत् २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले पर्यटकीय सुन्दर गाउँ बारपाक क्षणभरमा तहसनहस बन्यो । गाउँका कुनै घर बाँकी रहेनन् । भूकम्पबाट बारपाक गाउँमा मात्रै ७२ जनाले ज्यान गुमाए । भूकम्प गएको आज १० वर्ष पूरा भएको छ । पुनःनिर्माण सकिएसँगै बारपाकवासीले भूकम्पको पीडा पनि भुल्दै गएका छन् । पुराना शैलीमा घर नबने पनि बारपाक गाउँमा आधुनिक शैलीका घर बनिसकेका छन् । अर्थात् भूकम्पपछिको पुनर्निर्माण लगभग सकिएको छ । भूकम्पपछि बारपाकमा अहिले एक हजार ४५० भन्दा बढी घर पुनर्निर्माण भइसकेका छन् ।

“परम्परागत शैलीका घर त बनाइएनन् तर आधुनिक शैलीका घर लगभग बनिसकेका छन्”, स्थानीयवासी सुशीला घलेले भन्नुभयो, “भूकम्पको एकै झड्काबाट ठुलो क्षति बेहोरेका बारपाकीले फेरि पुरानै शैलीको ढुङ्गैढुङ्गा र काठले बनेका परम्परागत मौलिकता बोकेका घर बनाउने आँट भने गर्न सकेनन् ।”

भूकम्पपछिको पुनःनिर्माणले बारपाकको स्वरुप र पहिचान बदलिदिएको छ । एउटा ठुलो सुन्दर गाउँ अहिले सहर जस्तै बनेको छ । “हामीलाई बारपाकको चिनारी दिने घर बनाएर बस्न मन नभएको होइन,” उहाँले भन्नुभयो, “तर सुरक्षित हुँदैन भन्ने अनूभूति बारपाकीले गरेपछि आधुनिक शैलीका घर बनाउनुको कुनै विकल्प रहेन ।”

बारपाकमा निजी आवास पुनर्निर्माण लगभग सकिएको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष घनबहादुर घले बताउनुभयो । “भूकम्पपछि यहाँका मौलिक चिनारी भने बचाउन सकिएन,” उहाँले भन्नुभयो, “बारपाक त बारपाक नै हो तर पुरानो मौलिक बारपाक होइन, अहिले नयाँ र आधुनिक बारपाक बन्यो ।”

पुराना मौलिकता बोकेका घर नबने पनि बारपाकको सुन्दरता भने हराएको छैन । मौलिक पहिचान बोकेको लाहुरेको गाउँ बारपाकलाई गोरखा भूकम्पपछि ‘इपिसेन्टर बारपाक’भनेर पनि चिनिने गरेको छ । यसले बारपाकलाई फरक चिनारी दिएको छ । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीय जोड दिन्छन् ।

बारपाक केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पबाट गोरखामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने देशभरका ३१ जिल्लामा गोरखा भूकम्पले क्षति पुर्‍याएको थियो ।

पर्यटकीय गन्तव्य बन्दै

भूकम्पको इपिसेन्टर बारपाक अहिले पुनर्निर्माण मात्र भएको छैन । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरेर बारपाक गाउँभित्रै आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् । गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई बारपाकतर्फ लोभ्याउन नयाँनयाँ घुम्न लायक गन्तव्यको विकास गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

अब बारपाक घुम्न आउने पर्यटकले बारपाकभित्रै कलात्मक ‘बुद्ध पार्क’ पनि घुम्न पाउने छन् । बारपाकस्थित ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको ‘बुद्ध पार्क’ अहिले बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै गएको छ । उक्त उद्यानमा बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्काइएको छ । बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको ‘बुद्ध पार्क’ मा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ ।

त्यस्तै उद्यानमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायतका सामग्री पनि रहेका छन् । भूकम्पपछि सिङ्गो गाउँलाई एकै ठाउँबाट दृश्यावलोकनका लागि गाउँपालिकाले निर्माण गरेको ‘भ्यू टावर’ बारपाकको अर्को आकर्षक गन्तव्य हो । त्यस्तै भूकम्पमा ज्यान गुमाएको सम्झनामा निर्माण भइरहेको भूकम्प स्मृति उद्यानको काम लगभग अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

“सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखरामार्फत निर्माण भइरहेको स्मृति उद्यानको थोरै मात्र काम बाँकी छ,” उहाँले भन्नुभयो, “स्मृति उद्यानले बारपाकमा पर्यटकको आकर्षण अझै बढ्ने विश्वास छ ।” उद्यान निर्माण गर्न १५ करोड ५१ लाख ७५ हजारमा सम्झौता भएको छ ।

अध्यक्ष भट्टले बारपाक गाउँ अहिले पहाडको सहरका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । “इपिसन्टेर हेर्न र घुम्नका लागि देश भित्रका मात्र होइन बाहिरबाट पनि थुप्रै पर्यटक बारपाक आउन थालेका छन्,” उहाँले भन्नुभयो, “भूकम्पले थलिएको बारपाक अब तङ्ग्रिसकेको छ ।”

गैह्रागाउँका दलित परिवार अझै अस्थायी टहरामा

जिल्लाभित्र भूकम्पले क्षति पुर्‍याएका अधिकांश निजी आवास, सरकारी तथा गैह्रसरकारी कार्यालय एवं पुरातात्विक भवन पुनर्निर्माणको काम सम्पन्न भइसकेको भए पनि इपिसेन्टर बारपाकको दलित बस्तीका केही भूकम्पपीडित भने अझै अस्थायी टहरामा छन् ।

घर बनाउन जग्गा नपाउँदा भूकम्पको १० वर्षसम्म पनि दलित समुदाय अस्थायी टहरामा बस्न बाध्य भएको बारपाक सुलिकोट गाउँपालिका–१, की वडा सदस्य लक्ष्मी विकले बताउनुभयो । “साबिकको बस्ती जोखिमयुक्त छ, त्यहाँ घर बनाएर बस्न मिल्ने अवस्था छैन”, उहाँले भन्नुभयो । गैह्रागाउँमा १५ दलित परिवारले घर बनाउन नपाएको विकको भनाइ छ । उनीहरू अहिले सरकारी जग्गामा अस्थायी टहरामा बस्दै आएका छन् ।

 

 

एमालेले सरकार बचाउ भनेर कराएको छैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चिन्ता नगर्न आग्रह गर्दै मिसन ०८४ मा लाग्न आग्रह गरेका छन् । सरकारबारे अनेक चर्चा भइरहेका बेला उनले सरकारभन्दा चुनावको चिन्ता गर्न आग्रह गरेका हुन् ।

‘यतिबेला नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको हो । स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण एमालेले सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिल्यै पनि चुनाव हेरेको हुन्छ । हामीले ७०, ७९ को चुनाव भन्यौ । ८४ को चुनाव भनेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

उनले संसद‍्को बनावटअनुसार ठीक ढंगले देशलाई अघि बढाउन सकेसम्म प्रयासहरु एमालेले गर्ने बताए । ‘त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस्,’ उनले भने, ‘मिसन ०८४ एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने मिसन हो । यसबाट देश बन्छ, समृद्धि, राष्ट्रिय एकता बन्छ ।’

 

 

 

जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने सरकारबाट बाहिरिन्छौ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन्।

थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ। यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’

थापाले पुराना नेताका काण देशमा बेचैनी बढिरहेको बताउदै उनले भने ‘नागरिकले जसका कारणले असन्तुष्टि र बेचैनी बढिरहेको महसुस गरेका छन्, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन्। हामी अब यो गाडी तिम्ले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’