सभापति लामिछानेविरुद्धका दुई अभियोग फिर्ता – Nepalboli

सभापति लामिछानेविरुद्धका दुई अभियोग फिर्ता

   २०८३ जेष्ठ ८, शुक्रबार  

कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने समेतको प्रतिवादीको अभियोगपत्र संशोधन गर्न शुक्रबार अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाइ सहकारी ठगी अभियोगमा मात्र मुद्दा निरन्तरता दिन आदेश दिएको हो । सरकारी वकिल कार्यालय कास्कीले अभियोगपत्र संशोधन गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो । जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले लामिछानेसहित प्रतिवादी रहेको मुद्दामा अभियोगपत्र संशोधन गर्न अदालतले आदेश दिएको जानकारी दिनुभयो ।

अदालतले पीडितको बचत शीघ्र फिर्ता गराउन यस्तो आदेश दिइएको जनाएको छ । आदेशमा भनिएको छ, “पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु नै न्यायिक निरूपणको मूल विषयवस्तु हो ।” जाहेरवाला र प्रतिवादीबिच हुने सक्ने सम्भावित मिलापत्र वा रकम फिर्ताको प्रक्रिया सहज बनाउन र प्रतिवादीबिचको कानुनी एकरूपता र त्रुटि सच्याउन यस्तो आदेश भएको जनाइएको छ ।

यसअघि २०८२ पुस ३० लामिछानेको हकमा मात्र अभियोग संशोधन गर्ने निर्णय भएकोमा त्यसलाई त्रुटि मान्दै सबै प्रतिवादीहरूको अभियोग संशोधन गर्न अदालतले आदेश गरेको हो । सबै प्रतिवादीलाई एउटै प्रकृतिको कानुनी प्रक्रियामा राख्न र अघिल्लो निर्णयको प्राविधिक त्रुटि सच्याउन अभियोगपत्र संशोधन गर्नुपरेको आदेशमा उल्लेख छ ।

अभियोगपत्र संशोधनपछि सहकारी ठगीमा मात्र मुद्दा अघि बढ्नेछ । प्रतिवादीहरूले बचतकर्ताको रकम फिर्ता गर्न चाहेमा या मिलापत्र गर्न चाहेमा सहज हुनेछ । जिल्ला अदालत कास्कीमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध २०८१ पुस ७ गते मुद्दा दायर भएको थियो ।

३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेसहित पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाइ र रामबहादुर खनाललाई सम्पत्ति शुद्धिकरण अभियोग र सङ्गठित ठगीसमेत अभियोग लगाइएको थियो । सूर्यदर्शनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँको बिगो मागदाबी लिइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै