Page 128 – Nepalboli

न्यायपूर्ण समाज निर्माणमा कानुन जगतको दायित्व गहन- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्त्वपूर्ण दायित्व गहन रहेको बताउनुभएको छ ।

कानुन दिवस–२०८२ का अवसरमा शुक्रबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतको व्यवस्था आत्मसात् गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “आजको यस दिनले न्याय र कानुनका क्षेत्रमा आबद्ध सबैको मन तथा मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराइरहनेछ भन्ने विश्वास लिएको छु ।”

राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन ९प्रधान न्यायालय ऐन, २००८० लागू भएपछि व्यावहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप न्यायसम्पादनको कार्यको थालनी भएको हुँदा न्याय तथा कानुन जगत्मा यो दिनको विशेष महत्व रहेको राष्ट्रपति पौडेलले धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवम् वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति तथा प्रविधिसमेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन हुनुपर्ने बताउनुभयो ।

उहाँले विधिको शासन कायम तथा न्यायिक मूल्यमान्यतामा क्षयीकरण हुन नदिइ न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

 

 

 

 

 

 

भारत–पाकिस्तान तनाव- सुरक्षा र कूटनीतिक सक्रियता बढाउन ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबिच चलेको श्रृङ्खलाबद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमाहरूमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरूको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाले नेपाल शान्तिको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद खनालले सार्वजनिक वक्तव्यमा परराष्ट्र मन्त्रालयले आतङ्कवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले भारत–पाकिस्तानबिच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ति देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरताको पक्षमा नेपालको स्वभाविक चासो हुनुपर्दछ । परराष्ट्र मन्त्रालयले ढिलै भए वक्तव्यमार्फत सार्वजनिक गरेको आतङ्कवादविरुद्धको अडानको स्वागत गर्दै भारत पाकिस्तानबिच युद्धको स्थिति बन्न गएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति र आर्थिक श्रृङ्खलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्नसक्ने प्रभावसम्मको आँकलन गरी योजना निर्माणको माग गर्दछु ।’’

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबिच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले) का सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबिच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्नुभयो । उहाँले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गर्नुभयो ।

भारत–पाकिस्तानबिचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति सङ्कट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ । सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटिकन भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय विस्तार जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भारत–पाकिस्तानको हालको तनावले दक्षिण एसियामा व्यापक असर परिरहेको छ । जसको असर नेपालमा पनि तत्काल पर्नसक्छ । सभामुख महोदय नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भाग्नुपर्ने सम्भावित चुनौतीहरू, भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमा सुरक्षा जोखिम, आर्थिक परनिर्भता र आपूर्तिमा सङ्कट, हवाई यातायात, पर्यटन र व्यापारमा समेत समस्या पर्नसक्ने भएको कारण नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक सक्रियता बढाउनुपर्छ ।’’

२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तान आम्नेसाम्ने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तानलाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रधानमन्त्री ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव विच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबिच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गर्नुभयो । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्नुहुँदै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्सना गर्नुभयो । उहाँले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलसँग माओवादी अध्यक्ष प्रचण्डको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ। सङ्घीय संसद् प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका प्रचण्डले शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।

प्रचण्डको निजी सचिवालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटमा समसामयिक परिस्थिति र राजनीतिको विषयमा छलफल भएको छ।

 

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ- प्रमुख सचेतक बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरू बिच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको जानकारी दिनुभयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ ।

प्रमुख सचेतक बर्तौलाले केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो । उहाँले सरकारले छलफललाई निष्कर्षमा पुर्‍याएर छिट्टै नियुक्ति गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नियमित प्रक्रियाकै ढङ्गबाट यो अगाडि बढेको छ । केही दिनभित्रैमा तपाईंहरूले गभर्नर नियुक्ति भएको समाचार सुन्न पाउने हुने छ । केही कानुनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेवारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ । र केही दिनभित्रमा यो निर्णय आउँछ । थोरै ढिला भए जस्तो देखिए पनि निर्णय छिट्टै हुन्छ ।’’

पाकिस्तानले भारतमा धार्मिक र सम्प्रदायीक द्वन्द्व भड्काउन खोज्दै- भारतीय विदेशसचिव

गएको राती पाकिस्तानले ४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी

भारतीय विदेशसचिव विक्रम मिश्रीले पाकिस्तान माथी भारतमा धार्मिक तथा सम्प्रदायीक द्धन्द्ध भडकाउन लागी परेको दावी गरेका छन । गएको २२ तारिखमा भएको पहलगाम आक्रम देखि नै अहिले सम्म पाकिस्तान भरपुर रुपमा सम्प्रदायीक द्धन्द्ध भडकान खोजेको तर भारतीय समाजले सहिष्णुताले त्यसलाई निष्फल पारिएको बताएका छन । गएको मंगलवार राती देखि भारतले पाकिस्तानमा रहेको आतकवादी सेल्टरहरु माथी सुरु गरेको जवाफी आक्रमण वारेमा शुक्रवार आयोजित प्रेस बिफिंगमा मिश्रीले पाकिस्तानमाथि धार्मिक स्थल र विशिष्ट समुदायलाई लक्षित गरी कायरतापूर्ण आक्रमण गरेको आरोप लगाएको छ। बिहीबार राति भारतका विभिन्न सीमावर्ती क्षेत्रमा पाकिस्तानबाट भएको आक्रमणलाई लिएर भारतीय मिश्रीले ती आक्रमणलाई ‘धार्मिक द्वन्द्व भड्काउने नियोजित प्रयास’को संज्ञा दिएका छन्।

विदेश सचिव मिश्रीले भने, “पाकिस्तानले गुरुद्वारा र पुन्च क्षेत्रका नागरिक क्षेत्रमा हमला गरेर साम्प्रदायिक सौहार्दमाथि प्रत्यक्ष प्रहार गरेको छ। यो कायरताको पराकाष्टा हो।”

उनले पाकिस्तानले विश्व समुदायलाई भ्रमित पार्ने नियतले मिथ्या सूचना फैलाइरहेको आरोप पनि लगाए। उनका अनुसार पाकिस्तानका मन्त्रीहरू स्वयंले झूटो प्रचार गर्दै अन्तर्राष्ट्रिय धारणा तोडमोड गर्ने प्रयास गरिरहेका छन्।

भारतका अनुसार विहीबार राति पाकिस्तानले पश्चिमी सीमावर्ती क्षेत्रका ३६ स्थानमा आक्रमण गरेको छ। टर्कीमा निर्मित हतियार प्रयोग गरी कन्धार, उरी, पुन्च, मेन्धर, राजौरी, अख्नुर र उधमपुरमा लक्षित आक्रमण गरिएको थियो। कर्नेल सोफिया कुरैशीका अनुसार ती हमलामा केही सुरक्षाकर्मी घाइते भएका छन् भने भारतको जवाफी कारबाहीमा पाकिस्तानले सैन्य क्षति बेहोर्नुपरेको दाबी गरिएको छ। पाकिस्तानीले त्यसक्रममा ३ देखि ४ सय सम्म ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ।

भारतले पाकिस्तानले प्रहार गरेका थुप्रै ड्रोनलाई खसालिएको र आक्रमणको क्रममा पाकिस्तानले आफ्नो व्यवसायिक उडानलाई ढालका रूपमा प्रयोग गरेको आरोप पनि लगाएको छ।

विदेश सचिव मिश्रीले अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानको व्यवहारप्रति सचेत रहन आग्रह गर्दै क्षेत्रीय स्थायित्वका लागि ठोस कदम चाल्न आग्रहसमेत गरेका छन्।

पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो। भारतीय सुरक्षा बलले काइनेटिक र गैरकाइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो।’

ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको भारतको आरोप छ। भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ।

‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन्। भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,’ उनले भनिन्।

 

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगु सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेंगु सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग लाग्ने गर्दछ ।

शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेंगु सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताउनुभयो । उहाँका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।

 

 

पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकार सचेत छ- परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सन्दर्भमा सरकार सचेत रहेको र त्यहाँ रहेका विद्यार्थी एवम् नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको बताएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

पाकिस्तानमा तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामवादस्थित नेपाली राजदूतावासको निम्न सम्पर्क नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न मन्त्रालयले जानकारी गराएको छ ।

भारतमा रहेका नेपालीलाई आपतकालीन सेवा प्राप्त हुने स्थान पहिचान गर्न अनुरोध

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ। नेपाली राजदूतावास, नयाँ दिल्लीले शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।

राजदूतावासबाट जारी सूचनामा लेखिएको छ, भारतको जम्मू–कश्मिर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवम् सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ।’

 

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ- परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिनुभएको छ। मन्त्री डा। राणाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो। उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा बर्सेनि आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मिहिनेत गरिरहेको बताउनुभयो।

जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा राणाले दिनुभयो।

उहाँले भन्नुभयो “जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रुपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति बेहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।”

उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दामा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रूपमा सगरमाथा संवादको सुरुआत गरेको र यसवर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट गर्नुभयो।

मन्त्री डा राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेता एवं अन्तर्राष्ट्रिय सङ्घसङ्गठनलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताउनुभयो।

सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहनुभएकी मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रूपमा उहाँहरूले सहभागिताको सुनिश्चित पनि गर्नुभएको जानकारी दिनुभयो।

मन्त्री डा राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठुलो अवसर भएकाले आआफ्ना स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगलाई निर्देशन पनि दिनुभयो।

बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आफ्ना मन्त्रालयले सगरमाथा संवादको अन्तिम तयारी गरिरहेको जानकारी गराउनुभएको थियो। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादको तयारीका लागि भइरहेका कामका बारेमा जानकारी गराउनुभएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनले सहभागिताको सुनिश्चितता गरेका छन्।