कोभिड पुन बढदै- दुई हप्तामै कोरोना संक्रमण तेब्बर

दुई सातायता कोभिडको संक्रमण दरमा झन्डै तीन गुणाले बढेको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते पाजिटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो ।
संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दुई साताअघि (२९ गते जेठमा) १०६ जना सक्रिय संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ । त्यस्तै सघन उपचार कक्षामा भर्ना हुने कोभिड बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जनामात्र सघन उपचारमा थिए ।
‘दुई सातामा पोजिटिभिटी रेट झन्डै तीन गुणाले बढेको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भने, ‘भारतमा बढ्दो संक्रमणको प्रभाव र मुलुकमा हाल देखिएको जनस्वास्थ्य मापदण्डमा लापरबाहीले संक्रमणमा वृद्घि देखिएको हो ।’
विज्ञहरूका अनुसार संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको डा दासले जानकारी दिए । भारतमा संक्रमण बढ्ने क्रमसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको डा दासको भनाइ छ । भारतबाट नेपाल आउनेको परीक्षण नतिजा हेर्दा पनि संक्रमण दर क्रमशः बढ्न थालेको छ । ‘नाकामा शनिबार मात्र ४ जना पोजिटिभ देखिएका छन् भने केही दिनयता दैनिक सरदर ४ देखि ६ जना संक्रमित भेटिएका छन्,’ उनले भने । दासका अनुसार नाकामध्ये सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशको बेलहियामा देखिएको छ ।
भारतमा शुक्रबार कोभिडले २० जनाको मृत्यु भएको छ भने संक्रमण दर बढेर ४.३९ प्रतिशत पुगेको छ । कोभिड संक्रमितको संख्या करिब एक लाख पुगेको छ । संक्रमण उकालो लागेपछि भारतमा बढी संक्रामक मानिएका ‘बीए ४’ र ‘बीए ५’ भेरिएन्ट नेपाल भित्रिएको आशंका गरिएको छ । यसका लागि विशेष सावधानी अपनाइएको डा दासले बताए । ‘तेस्रो लहरअन्तर्गत ओमिक्रोन र यसको ‘बीए २’ भेरिएन्ट मात्र पाइएकामा भारतमा बढी संक्रामक मानिएका ‘बीए ४’, र ‘बीए ५’ भेरिएन्ट नेपालमा भित्रियो वा भित्रिएन भन्नेबारे निरन्तर परीक्षण गरेर सावधानी अपनाइरहेका छौं ।’
कुल जनसंख्याको झन्डै ७० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेकाले जटिल संक्रमण, संक्रमणको विस्तार धेरै तीव्र नभएको र मृत्युदर न्यून रहेको डा दासको दाबी छ । संक्रमणबाट बच्न मास्कको प्रयोग, खोप, हातको सरसफाइलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न उनले सुझाव दिए ।