आफनो कार्यभार सम्हाल्न काठमाडौ आइपुगे नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव – Nepalboli

आफनो कार्यभार सम्हाल्न काठमाडौ आइपुगे नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव

   ११ असार २०७९, शनिबार  

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए ।

सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले नेपालका लागि राजदूत नियुक्त हुनुअघि परराष्ट्र मन्त्रालय अन्तरगतको पूर्वी एशिया विभागको नेतृत्व गरिरहेका थिए । त्यसक्रममा उनले चीनसँगका विभिन्न चरणको कुटनीतिक वार्तामा भारतीय प्रतिनिधिको नेतृत्व गरेका थिए । लद्दाखको सीमा क्षेत्रमा विवादपछि भारत र चीनबीच विवादको स्थिति छ ।

यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएको दुई हप्तापछि श्रीवास्तवलाई नियुक्ति गरिएको थियो ।

श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले बताएको छ।

काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको छ। साथै उहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको छ।

राजदूत श्रीवास्तवले राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्नु हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै