नेकपा एकीकृत समाजवादी बैठकमा प्रस्ताव – एमाले बाहेक संग छलफल खुला राख्ने – Nepalboli

नेकपा एकीकृत समाजवादी बैठकमा प्रस्ताव – एमाले बाहेक संग छलफल खुला राख्ने

   ११ असार २०७९, शनिबार  

नेकपा एकीकृत समाजवादी केन्द्रले आगामी आम निर्वाचनमा गठबन्धनका लागि छलफल खुला राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेको हो । बैठकले देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना कायम रहेको निष्कर्ष पनि निकालेको छ । यद्यपी नेकपा एसले एमाले संग कुनै पनि सहकार्य वा गठबन्धन नबनाउने जनाएको छ । बैठकमा एमाले वाहेकका दलहरु संग मात्रै गठबन्धन वा तालमेल वारेमा कुराकानी हुने जनाएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आगामी दिनमा पार्टीको भूमिका अझै बढ्ने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए । स्थानीय निर्वाचनमा अझै धेरै सिटमा उम्मेदवारी दिएको भए पार्टीको मत सङ्ख्या बढ्ने पार्टीले समीक्षा गरेको बताए । उनले कलम चुनाव चिन्ह वरिपरि जनता गोलबद्ध हुन आतुर रहेको पनि बैठकको निष्कर्ष रहेको जिकिर गरे ।

महासचिव बेदुराम भुसालले सञ्चालन गरेको आजको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सम्मानित नेता झलनाथ खनालले पनि धारणा राखेका थिए ।

प्रतिवेदनमा आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिकोबारे चर्चा गर्नुका साथै स्थानीय निर्वाचनमा पार्टीले प्राप्त गरेका उपलब्धि, कमीकमजोरी र अबको सम्भावनाबारे प्रतिवेदनले औँल्याइएको छ । त्यस्तै, पार्टीको सङ्गठनात्मक जीवन कुन ठाउँमा छ र यसलाई कसरी अगाडि बढ्नुपर्छ भनेर औँल्याएको छ भने आगामी दिनमा सङ्गठनको कार्य योजना कस्तो हुने र आम निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषय उल्लेख छन् ।

आज प्रस्तुत गरेका विषयलाई केन्द्रीय परिषद्को बैठकमा लगिनेछ । त्यहाँ विभिन्न समूहमा विभाजन गरेर राय सुझावहरू सङ्कलन गरिनेछ । एउटै काम दुई पटक गर्नुपर्ने भएकाले आजको बैठकमा निजी रूपमा राय लिने काम भएको खतिवडाले बताए ।

मन्त्रीलाई सपथ खुवाउन प्रधानमन्त्रीलाई आग्रह

एकीकृत समाजवादीले पार्टीले मन्त्री सिफारिस गरेकाहरुलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरुको अपमानको रुपमा बुझ्ने समेत चेतावनी दिएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका हुन् ।

‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं । तपाईहरुले आन्तरिक तनाव व्यवस्थापन गर्न खोज्दा हाम्रो पार्टीमा खेल्न खोजेको हामीलाई लज्जित गर्न खोजेको जस्तो देखिएको छ’ उनले भने ।

उनले अब मन्त्रीको शपथ ग्रहणमा ढिलाइ नगर्न आग्रह गरिएको पनि बताए । ‘अब ढिलाइ गर्नुभयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला’ नेता खतिवडाले चेतावनीको शैलीमा भने ।

नेकपा एकीकृत समाजवादीले हाल मन्त्रिपरिषदमा रहेका नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर निर्णय भएको २१ दिन भए पनि अहिलेसम्म मन्त्री सिफारिस भएकाहरुले शपथ ग्रहण गर्न नपाएकामा एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।

प्रचार विभाग प्रमुख खतिवडाले एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीको सूचिमा संशोधन हुँदैन नहुने पनि बताए । केही मन्त्रीहरुले मन्त्रीको सूचि हेरफेर गर्नुपर्ने भनी पार्टीमा माग गरेको चर्चा चलेको थियो । तर खतिवडाले बैठकपछि पत्रकारहरुसँग भने, ‘मन्त्रीको सूचि संशोधन हुँदैन, समय क्रममा नाम थप्नुपर्ला, घटाउनुपर्ला, तर अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन ।’

उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको पनि बताए । शनिबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पुनः बस्ने छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै