संकटको भुमरीमा माधव नेपाल – Nepalboli

संकटको भुमरीमा माधव नेपाल

   १० असार २०७९, शुक्रबार  

झण्डै १० महिना अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर अलग हुँदै नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल संकटको भुमरीमा फसेका छन् । ओली सरकारलाई हटाउनदेखि शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दैै ५ दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता नेपाल समयक्रमसँगै गठबन्धनमा मात्रै होइन, आफ्नै पार्टीभित्र समेत निरीह बन्न पुगेका हुन् ।

पछिल्लो समय नेता नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी उनको काबुभन्दा बाहिर जान थालेको छ । पार्टीका मन्त्री हेरफेरको निर्णयले पार्टीमामात्रै नभएर सत्ता गठबन्धनमै हलचल उत्पन्न भएपछि नेता नेपाल पार्टीभित्र थप कमजोर बन्न पुगेका हुन् । यहाँसम्म कि, नेता नेपालले आफ्नो पार्टी कमिटीमा गरेको निर्णय न पार्टीका नेताहरुले मानिरहेका छन्, न सत्ता गठबन्धनले नै स्वीकार गर्न सकेको देखिन्छ । यसरी पार्टीभित्र र सत्ता गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएपछि नेता नेपाल संकटको भुमरीमा फस्न बाध्य भएको नेकपा समाजवादीकै नेताहरुको भनाइ छ ।

कम्युनिस्ट नीति, विचार र सिद्धान्तको चर्को वकालत गर्दै आएका नेता नेपाल आफ्नै पार्टीमा पछिल्लो समय मौलाएको अराजकतालाई समयमै पर्गेल्न असमर्थ हुँदा उनी निरीह र कमजोर यात्रातर्फ धकेलिएका छन् ।

‘पार्टीभित्र मौलाएको अराजकता समयमै पर्गेल्न नसक्दा अध्यक्ष कमरेडले एकपछि अर्को संकट झेल्नुपर्ने अवस्था देखिँदैछ’, नेकपा समाजवादीका एक पोलिटव्युरो सदस्य भन्छन्, ‘पार्टीभित्रै कमजोर हुन थालेपछि बाहिरबाट समेत अपेक्षाकृत सहयोग हुन सकेन ।’

पार्टी गठन गरेको १० महिना नपुग्दै नेपालको पार्टीमा विद्रोहको ज्वारभाटा यसरी देखिन थालेको छ कि उल्टै नेता नेपालमाथि नै अनगिन्ती प्रश्न खडा भएका छन् ।

शुक्रबार चार मन्त्रीसहित १० सांसदहरुले नेता नेपालमाथि ८ प्रश्न तेर्स्याउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको असन्तुष्ट नेताहरुको आरोप छ । उनीहरुले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने दाबी गरेका छन् । आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उनीहरुलाई अन्य ६ जना सांसदले समेत समर्थन जनाएर हस्ताक्षर गरेका छन् ।

मन्त्रीलाई समर्थन गर्नेहरुमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् । उनीहरुले नेता नेपाललाई गराएको ध्यानाकर्षणमा नयाँ मन्त्रीहरुको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तका आधारमा पठाउनुपर्ने माग पनि गरेका छन् ।

आफैले विश्वास र भरोसा गरेका सांसद र नेताहरुले गरेको प्रश्नको वर्षाले नेता नेपाल अझ कमजोर बन्दै जाने संकेतहरु देखिएका छन् । पार्टीभित्र कमजोर बन्न थालेपछि उनलाई गठबन्धन घटक दलहरुले समेत बेवास्ता गरिरहेका छन् । दोहोरो संकटमा परेका उनले आफूमाथि लागेको संकट कसरी पार लगाउलान ? त्यो हेर्न भने केही दिन पर्खनुको विकल्प छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै