सहकारी ठगी मुद्दामा युवा सङ्घका उपमहासचिव गुरुङ जेल चलान – Nepalboli

सहकारी ठगी मुद्दामा युवा सङ्घका उपमहासचिव गुरुङ जेल चलान

   २०८० पुष १८, बुधबार  

राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित सूर्यदर्शन सहकारीका सञ्चालक भविश्वर अर्याललाई थुनामा पठाउन आदेश भएको जानकारी दिए। उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि फरार रहेका दुवै जना मंगलबार अदालतमा हाजिर भएका थिए। मङ्गलबार थुनछेक बहस नसकिएपछि उनीहरूलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो।

गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो। राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहनुभएका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुनुहुन्थ्यो। उहाँले सहकारीको नौ करोडभन्दा बढी हिनामिना गरेको पोखरा महानगरले गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै