आदिकवि भानुभक्तको २० वर्षअघि जलेको घर पुननिर्माण गरिँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्षपछि पुननिर्माण हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।
२०६० सालमा जङ्गलमा लागेको आगोले जलेर ध्वस्त भएको घरको शिलन्यास भएको सात वर्षपछि पुननिर्माण हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेका थिए । मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उनले बताए। उनका अनुसार अगामी माघदेखि काम सुरु गर्ने तयारी छ ।
रानाभाटका अनुसार सात वर्षअघि रु ६८ लाख अनुमान गरिएको र हाल महङ्गी बढेकाले रु एक करोड लाग्ने अनुमान गरिएको छ । खरले छाउँदा आगोको जोखिम धेरै हुने भएको ढलान गरी त्यसमाथि ढुङ्गाले छाउने गरी डिजाइन तयार भएको छ ।
भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुको योगदानलाई कदर गर्दै उहाँको जन्मस्थल चुदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुर्ननिर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएको लामो समाय बितिसक्दा पनि निर्माण हुन सकेको थिएन ।