दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा
दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम उपलब्धि नजिक पुगेको छ । पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङको काम जारी छ । भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको छ ।
ड्रिलिङका लागि सय बाई सय मिटरको खुला स्थान तयार गरिँदै छ । मेसिन जडान गर्न ठाउँ निर्माण भइरहेको छ । नेपाल सरकार खानी तथा भूगर्भ विभागका तर्फबाट निर्माण स्थालमै खटेका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार एक महिनाभित्र मेसिन जडान गर्न सकिए करिब चार किलोमिटर ड्रिलिङ गरिनेछ । तोकिएकै समयमा सडक पूर्वाधार तयार भई उपकरण जडान गर्न सकिए चार महिनाभित्र ड्रिलिङ कार्य सम्पन्न हुनेछ ।
यसअघि करिब तीन सय किलोमिटरको परिधिमा रही तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाई गरिने एक किसिमको धर्तीको अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको छ ।
भैरवी गाउँपालिका–१ स्थित जलजलेमा कुल २८ घरधुरीको ४५ रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएपछि पूर्वाधार निर्माणले गति पनि लिएको छ । मुआब्जामा न्यायोचित मूल्य निर्धारण नभएको स्थानीयको गुनासोलाई सम्बोधन गरेपछि जग्गा पास गरिएको छ ।
देशकै आर्थिक समृद्धिको द्वार खोल्न सक्ने महत्वाकाङ्क्षी ठानिएको राष्ट्रिय गौरवको आयोजनाका व्यवधान हटाउन क्याम्प खडा गर्ने, प्लेटफर्म तयार गर्ने, स्थानीयको माग सम्बोधन गर्ने कार्यलाई समेत सँगसँगै लगिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले ड्रिलिङका लागि ठुलो उपकरणलाई ल्याउने गरी कर्णाली राजमार्ग विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिए । उपकरण चीनको त्यान्जिङ सहरदेखि भारतको कोलकाता बन्दरगाहबाट नेपालगन्जको जमुनाह नाका, सुर्खेत र कर्णली राजमार्गको साङ्गेतडा, चामुण्डा बिन्द्रासैनी हँुदै मध्यपहाडी राजमार्ग भएर जलजलेसम्म ल्याइने भएको छ ।
यसअघि प्राविधिक टोलीले साइस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायत काम सम्पन्न गरिसकेको छ । यसअनुसार अध्ययनबाट पेट्रोलियम पदार्थ कति छ ? उत्खनन सम्भव छ कि छैन भन्ने जिज्ञासाको उत्तर दिइसकिएको छ । अन्तिम प्रतिवेदन अनुसार भण्डारण निश्चित हुनुका साथै प्रचुर मात्रामा भण्डारण र उत्खननको सम्भावना प्रबल रहेको पुष्टि भएसँगै अन्तिम चरणको अन्वेषणात्मक ड्रिलिङ अघि बढाइएको छ ।