प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गरिने – Nepalboli

प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गरिने

   २०८० पुष २, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई वसन्तपुरमा एक कार्यक्रमबिच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित सोमबार बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रूपमा लागू गरेको, नेपाल संवतलाई सरकारी दस्ताबेजमा उल्लेख गर्न र बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गर्नुभएकाले सो नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संस्कृतिमा धनी काठमाडौँ उपत्यका आदिवासी ज्यापू समुदायको संस्कृति, सङ्गीत बाजागाजा, रीतिरिवाज, रहनसहन लगायत सामाजिक, सांस्कृतिक उत्थानका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘‘नेपाल सम्बत्लाई सरकारी दस्ताबेजमा उल्लेख गर्ने र बागमती प्रदेशमा नेपाल भाषालाई सरकारी मान्यता दिनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठुलो उपलब्ध हो” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति एकथरीले अनावश्यक रूपमा प्रहार गर्ने दुस्साहस गरेको बेला काठमाडौँका नेवार समुदायले सरकारले गरेका निर्णयलाई स्वागत गरेर अभिनन्दन गर्ने निर्णय गरेकोमा धन्यवाद दिन चाहन्छु ।’’

उहाँले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अक्षयकोषका लागि प्रदान गर्नुभएको १० करोड रुपियाँ निकासा गर्ने बताउनु हुँदै नेपाली जनताले सरकारले गरेका राम्रा काममा समर्थन गरिरहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै