मध्यपहाडी लोकमार्ग निर्माणमा सरकारले हेलचेक्र्याईं गर्‍यो – सुरेन्द्र पाण्डे – Nepalboli

मध्यपहाडी लोकमार्ग निर्माणमा सरकारले हेलचेक्र्याईं गर्‍यो – सुरेन्द्र पाण्डे

   ३० मंसिर २०८०, शनिबार  

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। झुलाघाट-चिवाभन्ज्याङ यात्राका क्रमा शनिबार तेह्रथुम पुगेका पाण्डेले उक्त आरोप लगाएका हुन्। पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गर्दै उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको बताए। सरकारले हेलचेक्र्याईं अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो।

एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको दाबी गर्दै उनले यात्रामा पार्टीका कार्यकर्ताभन्दा नागरिकहरु स्वागतका लागि आएको बताए । पाण्डेले भने, ‘नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ ।’

मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ थियो। ‘मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्न सक्छ,’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै