सङ्घीय कानुनहरूको निर्माण सरकारको पहिलो प्राथमिकतामा-प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउनुभएको छ । शुक्रबार २९ औं काठमाडौं महानगर दिवस समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने विश्वास गर्नुभयो । तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका लगायतका सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको जानकारी प्रधानमन्त्रीले गराउनुभयो ।
साथै प्रधानमन्त्री प्रचण्डले काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर रहेको बताउनुभयो ।
‘‘यहाँ विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौंलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको छ । हाम्रा यस्ता आदिम वैभवहरूको उचित संरक्षणले एकातर्फ काठमाडौंको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवर्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्वपूर्ण योगदान पुर्याउँछ ।,’’ उहाँले भन्नुभयो, ‘‘तसर्थ, काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्द्धन एवम् यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हो र हुनुपर्दछ ।’’
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवम् विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सुर्ती–चुरोटलगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ । यसका निम्ति म महानगर प्रमुख, उपप्रमुखलगायत सिङ्गो महानगर परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपिल गर्दछु ।’’