संयुक्त प्रस्ताव बनाउन महामन्त्री थापा र शर्माले गरे छलफल
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त रूप दिने गरी छलफल गरेका छन् । पुस १६ गतेदेखि १९ गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकमा पेश गर्न कांग्रेसले महामन्त्री थापाको नेतृत्वमा साङ्गठनिक र अर्का महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार समिति बनाएको थियो ।
कांग्रेसले महासमिति बैठकलगायत विषयमा छलफल गर्न शुक्रबार दिउँसो सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। उक्त बैठकअघि बिहीबार अपराह्न महामन्त्रीद्वय थापा र शर्मा प्रस्तावलाई संयुक्त रूप दिन छलफलमा जुटेको महामन्त्री शर्माको सचिवालयले जनाएको छ।
कांग्रेसले महासमिति बैठक केही समय सार्ने गृहकार्य गरिरहेको छ तर महामन्त्री थापा र शर्माले तोकिएकै समयमा महासमिति बैठक गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरिरहेका छन् । गत मंसिर १३ गते बसेको पदाधिकारी बैठकमा सभापति देउवाले पुसको ठण्डीमा महासमिति बैठक नगरौ भनेका थिए। तर संस्थापनइतर समूहको बुधबार भएको भेलाले तोकिएकै समयमा महासमिति बैठक हुनुपर्ने निष्कर्ष निकालेको थियो।