नेपाली कांग्रेसको शेखर-गगन पक्षको निष्कर्ष – राष्ट्रियसभा चुनावमा नयाँलाई अवसर दिनुपर्छ
नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले काठमाडौंको बत्तिसपुतलीमा बुधबार बैठक गरेका छन्। १४ औं महाधिवेशनमा कोइराला समूहबाट जितेका पदाधिकारी, हारेका नेताहरू, प्रदेश सभापतिहरू, पार्टी केन्द्रीय सदस्यहरू र सांसदहरू गरी ४५ जना बैठकमा सहभागी थिए । कोइरालाले मुख्यगरी महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, समसामयिक राजनीति, आन्तरिक विषयमा सुझावसहित कुरा राख्न समय दिएअनुसार पालैपालो नेताहरूले धारणा राखे।
बैठक पछि कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरूङले आउने राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने आफुहरुको निष्कर्ष रहेको बताए । माघ ११ गते हन लागेको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न काग्रेसमा केहि पुराना नेताहरु समानुपातिक सुचिवाट आफनो नाम फिर्ता लिएको बेला यो समुहले नयां र अवसरवाट बन्चितहरुलाई मौका दिनुपर्ने आवाज उठाएका छन ।
बैठकमा सहभागी भएर बाहिरिने क्रममा उपसभापति गुरूङले राष्ट्रियसभा चुनावमा कांग्रेसबाट सक्षम व्यक्तिले अवसर पाउनु पर्ने बताएका हुन् । उनले भने, ‘राष्ट्रिय सभा चुनावमा पटक पटक अवसर पाएकाले नभई कहिल्यै अवसर नपाएकाले नेतृत्व गर्न पाउनुपर्छ ।’ कांग्रेसको महासमिति बैठकमा सही एजेण्डा उठाउन आजको बैठक बोलाइएको उनको भनाइ थियो।
कांग्रेस महामन्त्री गगन थापाले पनि राष्ट्रिय सभा निर्वाचनका लागि योग्य व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउनुपर्ने बताए । योग्य हुँदाहुँदै पनि पार्टीभित्र अवसर नपाएकाहरूलाई राष्ट्रिय सभाको सदस्यमा उम्मेदवार बनाउनुपर्ने थापाको भनाइ छ । सबै कुराहरूको आधारमा जो साथीहरू राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ, अहिलेसम्म मौका पाउनुभएको छैन, जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन ती साथीहरू जाने कुरा एउटा हुन्छ, उनले भने, यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति यो पटक राष्ट्रिय सभाको टिकट बाडँदै गर्दाखेरी सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ? सभापति सिंगो कांग्रेसको सभापति बनाउने हो ।
राष्ट्रिय सभा निर्वाचनमा टिकट बाँड्ने क्रममा न्यायपूर्ण बनाउनका लागि सभापति शेरबहादुर देउवालाई प्रेरित गर्ने र दबाब दिनेबारे छलफल भएको थापाको भनाइ थियो । उनले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्नका लागि मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने बताए ।
विगतका निर्वाचनहरूमा मापदण्ड बिना नै उम्मेदवार चयन गरिँदै आएको भन्दै आगामी दिनमा त्यो प्रवृति सच्याएर अगाडि बढ्नुपर्ने उनले बताए ।