नेपाल दूरसञ्चार प्राधिकरणद्धारा ऐनविपरीत खोलिएका पाँच लाखभन्दा बढी वेबसाइट बन्द – Nepalboli

नेपाल दूरसञ्चार प्राधिकरणद्धारा ऐनविपरीत खोलिएका पाँच लाखभन्दा बढी वेबसाइट बन्द

   २०८० मंसिर १७, आईतवार  

बन्द हुनेमा ऐनविपरीत खोलिएको न्युज पोर्टल देखि अनलाइन जुवा खेलाउने तथा पोर्नसाइटहरु

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा ऐनविपरीत खोलिएका पाँच लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ । सरकारको विभिन्न अधिकारिक निकायहरुको सिफारिसमा प्राधिकरणले धेरै पोनोग्राफीका वेबसाइटहरूको साथै केहि न्युज पोर्टल र केहि जुवा खेलाउने साईटहरु बन्द गर्न निर्देशन दिएको हो । प्राधिकरणले सरकारको निर्देशनमा हालै टिकटक पनि बन्द गरेको छ ।

मुलुकी अपराध ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ । इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले समाजको मूल्य–मान्यता र सामाजिक सद्भावनामा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको भन्दै त्यस्ता वेबसाइट बन्द गरेको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवाप्रदायकको आचार संहिताअन्तर्गत यस्ता वेबसाइट बन्द गरिनुपर्ने प्रावधान भएको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । ‘अश्लील सामग्री भएका साइट, समाजको शान्ति भंग गर्ने, सांस्कृतिक विचलन ल्याउनेलगायतका वेबसाइट बन्द गर्ने प्रावधान नै छ,’ उनले भने । यस्ता साइटहरूबारे भने प्राधिकरण आफैँले नै बन्द गर्न निर्देशन दिने उनले बताए । यस्ता साइट बन्द गर्नका लागि इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशनको पनि आवश्यकता नपर्ने उनले बताए । नेपालमा एक सय ३० वटा लाइसेन्सप्राप्त इन्टरनेट सेवाप्रदायक छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सयभन्दा बढी संख्यामा क्रिप्टोकरेन्सी तथा अनलाइन जुवासम्बन्धी वेबसाइट पनि बन्द गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्णयअनुसार प्राधिकरणले ०७९ पुस २५ गतेदेखि अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवातासलगायतका साइट तथा एप्लिकेसन बन्द गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, प्राधिकरणले करिब एक सय अनलाइन पोर्टलहरू बन्द गरेको निर्देशक रोयले बताए । नेपाल प्रेस काउन्सिलको आग्रहमा यस्ता न्युजपोर्टलहरू बन्द गरिएको उनले बताए । काउन्सिलले ऐनविपरीत खोलिएका न्युजपोर्टल सधैँका लागि बन्द गर्ने तथा ऐनविपरीत काम गरेको अनलाइनलाई कारबाहीस्वरूप निश्चित समयका लागि बन्द गर्न आग्रह गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै