धादिङमा आज एकैदिनमा ५ पटक भूकम्पको धक्का
धादिङमा आज (आइतबार) एकैदिन पाँचौँपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक अपराह्न ४ बजे ३ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि धादिङ केन्द्रबिन्दु भएर चारपटक भूकम्प गइसकेको छ। सुरुमा बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। काठमाडौँ उपत्यका मज्जैसँग हल्लिएको थियो। यस्तै यसको २९ मिनेपछि अर्थात् बिहान ८ बजेर ८ मिनेट जाँदा खरी नजिक क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
फेरि यसको २० मिनेटपछि अर्थात् बिहान ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गयो भने ५१ मिनेटपछि अर्थात् बिहान ८ बजे ५९ मिनेट जाँदा खरी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।
भूकम्पविद्का अनुसार सुरुमा गएको ६.१ म्याग्निच्युडको धक्का २०७२ सालमा गएको महाभूकम्पको परकम्प हो भने त्यसपछिका धक्का ६.१ म्याग्निच्युडको परकम्प हुन्।
भूकम्पले धादिङमा २० घर भत्किए, ७५ चर्किए
आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए ।
पटक पटक चार रिक्टरस्केल भन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए।