इजरायल हमास युद्ध – ११ पत्रकारको मृत्यु
इजरायल हमास युद्धमा ११ जना पत्रकारको मृत्यु भएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ । मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् ।
इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।
रोयटर्सका अनुसार अल्मा अल शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् ।
गत शनिबारदेखि सुरु भएको हमास इजरायल युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।
कमिटीले युद्धमा अरु पत्रकार परे र नपरेको बारे अनुसन्धान गरिरहेको पनि जनाएको छ । सीपीजेका मध्य पूर्वका संयोजक शरिफ मन्सुरले गाजामा पत्रकारहरू परिवारका सदस्य घाइते र मारिएको अवस्थामा समेत सूचना संकलनमा खटिइरहेको बताएका छन् । उनले भनेका छन्, ‘उनीहरू सबैभन्दा जोखिममा छन् तर अहिले तिनीहरूकै बढी खाँचो छ । अहिलेका दृश्य बताउने हाम्रा आँखा उनीहरू नै हुन् ।’
गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मानिस मारिएका छन् । हमासको आक्रमणमा १ हजार ३ सयभन्दा बढी इजरायली मारिएका छन् भने इजरायली हवाई र बम आक्रमणमा २ हजार २ सयभन्दा प्यालेस्टिनी मारिएका छन् ।