नागढुंगा सुरुङमार्गको एक महिनाभित्र टनेलको ‘ब्रेक थ्रू’ गर्न मन्त्री ज्वालाको निर्देशन – Nepalboli

नागढुंगा सुरुङमार्गको एक महिनाभित्र टनेलको ‘ब्रेक थ्रू’ गर्न मन्त्री ज्वालाको निर्देशन

   २०८० आश्विन २७, शनिबार  

स्थानीय समस्याले केही समय अवरुद्ध बनेको नागढुंगा नौविसे सुरुङमार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ। सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटर माथि खाडल परेको थियो भने ९ वटा घरहरु चर्किएका थिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खाडल परेको ठाउँको विज्ञद्वारा अनुसन्धान गराउने र चर्किएका घरहरुलाई अस्थायी स्थानान्तर गर्ने निर्णय गरेपछि अवरुद्ध सुरुङमार्गको काम पुनः सञ्चालनमा आएको निजी सचिव रामहरी शर्माले बताए।

‘आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्रीज्यूले तत्काल सर्वपक्षीय बैठक बोलाउनुभएको थियो,’ निजी सचिव शर्माले भने, ‘पीडितपक्ष, त्यसक्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहवरमा निर्णय भएपछि आयोजनाको काम सुरु भएको छ।’
सुरुङमार्ग निर्माणका क्रममा भएका समस्याहरुलाई समाधान गर्न सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको छ। सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्‍यो, कति घरहरु चर्केका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितहरुलाई स्थानान्तरणको व्यवस्था गर्न समिति बनेको हो।

आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको छ। मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर तत्काल समस्या सामधान गर्ने निर्णय भएको शर्माले बताए।
अवरोध हटेपछि मन्त्री ज्वालाले करिब एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रू हुनेगरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिएका छन्।

सहायक टनेलको ब्रेक थ्रु भइसकेको छ भने मुख्य टनेलको काम अन्तिम चरणमा छ । करिब २ सय मिटर मात्र काम बाँकि रहेको आयोजनाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै