पूर्वराष्ट्रपति यादवद्धारा राष्ट्रपति पौडेललाई ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा रामवरण यादवले अहिले बन्द गरिएको गिटटी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् ।
पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवम कृषि विज्ञहरुसहित राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति पौडेललाई भेटेर सो ध्यानाकर्षण गराएका हुन् । राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति डा यादवसहित विज्ञहरुले गर्नुभएको ध्यानाकर्षणप्रति आफू गम्भिर रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्नभण्डार रहेको तराईमधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि डा यादवलगायतका विज्ञलाई बताएका थिए ।
मन्त्रिपरिषदको असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द भएको गिटटी, ढुंगा, वालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको पनि डा यादवले जानकारी दिए ।