भारत सरकारको सहयोगमा काठमाडौको वालुवाारमा रहेको महेन्द्र माबीको भवन निर्माण – Nepalboli

भारत सरकारको सहयोगमा काठमाडौको वालुवाारमा रहेको महेन्द्र माबीको भवन निर्माण

   २०८० आश्विन २५, बिहीबार  

भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिकको विद्यालय भवन निर्माण सम्पन्न भएको छ । बुधवार नवनिर्मित भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख श्री सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरेका छन । उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण भएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति, काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए ।उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको पनि बताए ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुलबस उपलब्ध गराइसकेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै