स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक छ – मन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन ।
मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको बताए ।
उनले भने,“ सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।” उनले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने जानकारी दिए ।
महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मन्त्री त्रिपाठीले मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न पनि सबैमा अनुरोध गरे ।
मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । “खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन, ” उनले भने, “सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसंँग चार डलरमा खरीद गरेको हो ।” ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा सङ्क्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको उनले स्पष्ट पारे ।
“भारतमा पनि सङ्क्रमण बढेर निर्यात गर्न दिइएको छैन, ” उनले भने, “ भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।”
उहाँले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।
स्वास्थय मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताए ।
उनले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग रु १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिए ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताए ।