नेपालीको उद्धारका लागि बुधबार राति परराष्ट्रमन्त्री एनपी साउद नेपाल एयरलाइन्स लिएर इजरायल जादै – Nepalboli

नेपालीको उद्धारका लागि बुधबार राति परराष्ट्रमन्त्री एनपी साउद नेपाल एयरलाइन्स लिएर इजरायल जादै

   २०८० आश्विन २४, बुधबार  

इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार राति नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ। गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

परराष्ट्र मन्त्रालयले उनीहरूको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज पठाइने जनाएको छ। दुबई ट्रान्जिट हुँदै जहाज इजरायल जाने परराष्ट्र मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

नेपालीहरूलाई लिन जाने जहाजमा परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने पनि तय भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्वयंम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । तेल अबिबस्थित नेपाली दूताबासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै