इजरायलका रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा राखियो – Nepalboli

इजरायलका रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा राखियो

   २३ आश्विन २०८०, मंगलवार  

नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा पुुर्याइएको छ । परराष्ट्र मन्त्रालयको पहलमा इजरायलमा रहेका ५० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।

मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै लम्सालले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरिन् ।

प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’

सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।

गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् ।

इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कोही नेपालीहरु बंकरभित्र बसेर ज्यान जोगाएका थिए ।

इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।

सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै