जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता हुँदै

युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो ।
श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार रोमानियासँग श्रम समझदारी (एमओयु) गर्ने छ भने असोज २३ गते मङ्गलबार जर्मनीसँग श्रम समझदारी (एमओयु) गरिने छ ।
श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच श्रम समझदारीमा हस्ताक्षर हुने छ । जर्मनीसँग भने त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबिच श्रम समझदारी हुने श्रम मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपाल सरकारले रोमानिया र जर्मनीसँग दुईपक्षीय श्रम समझदारी गरेसँगै नेपाली श्रमिक पठाउने बाटो खुल्ने जानकारी दिए । जर्मनी र रोमानियासँग श्रम समझदारीका लागि धेरै पहिलादेखि नै प्रयास हुँदै आएको र अहिले बल्ल सम्भव भएको उनको भनाइ छ ।
उनका अनुसार ती देशसँग श्रम समझदारी सम्पन्न भएपछि त्यसको कार्यान्वयनको ढाँचा दुई देशका प्रतिनिधि रहने गरी समिति बनाइने छ र सो समितिले त्यसको सबै विषय टुङ्गो लगाउने छ ।
हाल रोमानियामा व्यक्तिगत रूपमा गएर नेपाली श्रमिक काम गर्दै आएका छन् । नेपालीको आकर्षक श्रम गन्तव्य देश रोमानिया र जर्मनीमा जान नेपालीले लाखौँ रुपियाँ तिरेर ठगिने समस्या धेरै भएकाले यो समझदारीपछि बिस्तारै अन्त्य हुने विश्वास श्रम मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए ।
सम्झौतामा विभिन्न प्रक्रियाबाट ती देशमा पुगेका नेपाली नागरिकलाई वैध बनाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकतामा राखिएको उनले जानकारी दिए । ती देशसँग श्रम समझदारी भएपछि कस्ता श्रमिक, कुन क्षेत्र, जाँदा लाग्ने लागत, त्यहाँ जाने नेपालीले प्राप्त गर्ने सेवा सुविधालगायतका सबै विषय समझदारी कार्यान्वयन गर्न बन्ने समितिले टुङ्गो लगाउने छ । ती देशबिच भएको श्रम समझदारी पाँच वर्षको हुने छ । दुई देशको सहमति अनुसार छिट्टै कार्यान्वयनमा जाने छ ।