सर्वोच्चद्धारा रिगलको कैद मिनाहा बारे सरकारसँग जवाफ माग – Nepalboli

सर्वोच्चद्धारा रिगलको कैद मिनाहा बारे सरकारसँग जवाफ माग

   १८ आश्विन २०८०, बिहीबार  

ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।

कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि सर्वोच्च अदालतले आदेश दिएको छ । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन पनि आदेश भएको छ ।

३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए । रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको छ । चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

सो रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र उनको परिवारको सुरक्षाको प्रत्याभूति गराउन पनि आदेश दिएको छ । त्यस्तै रिगलविरुद्ध सर्वोच्च अदालतमा चलेको र पछि फिर्ता भएको मुद्दाको मिसिल र अरु कागजात अवलोकनका लागि पेश गर्न पनि आदेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै