स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद र तीन लाख जरिवाना – Nepalboli

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद र तीन लाख जरिवाना

   २०८० आश्विन १७, बुधबार  

सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याउने कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम सो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने, हातपात गर्नेमाथि यसै कानुन अनुसार कारबाही गर्न नेपाल सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको जनाइएको छ ।

यसैगरी, स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था सो ऐनमा उल्लेख गरिएको छ । साथै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याए पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई हातपात गरे एक वर्ष कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै