इन्जिनियरिङ अध्ययन संस्थानद्धारा प्रवेश परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा स्थगित गरेको छ। स्नातक तह (बि ई बिआर्क) प्रवेश परीक्षा कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।
प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले राजीनामा दिएकोले प्रवेश परीक्षा स्थगित गर्नुपरेको शाखा अधिकृत निरजकुमार वैद्यले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।
परीक्षा बोर्डका पदाधिकारीहरूले मंगलबार संयुक्त राजीनामा दिएका थिए।
डीनको कार्यालयले असोज १५ गते सूचना निकालेर शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका आगिंक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा मिति तोकेको थियो।
असोज १७ देखि १९ गतेसम्म परीक्षा फारम भर्न समय दिइएको थियो। असोज २२ देखि प्रवेश परीक्षा सञ्चालन गर्ने डीनसमेत रहेका प्रा डा शशीधर राम जोशीले निकालेको सूचनामा उल्लेख थियो।