बझाङ केन्द्रविन्दू भएर मंगलबार दिउँसो देखि ११ वटा भूकम्प, १ जनाको मृत्यु – Nepalboli

बझाङ केन्द्रविन्दू भएर मंगलबार दिउँसो देखि ११ वटा भूकम्प, १ जनाको मृत्यु

   १७ आश्विन २०८०, बुधबार  

बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो यता ११ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक बुधबार बिहान ५:४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ। सुरुमा मंगलबार दिउँसो २ः ४० बजे बझाङ केन्द्रविन्दू भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो ३ः०६ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो ३ः१३ बजे ५.१ म्याग्निच्यूड, दिउँसो ३ः४५ बजे ४.१ म्याग्निच्यूड, दिउँसो ४ः२८ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, मंगलबार दिउँसो ४ः३१ बजे ४.३ म्याग्निच्यूड, अपराह्न ५ः१९ बजे ५ म्याग्निच्यूड, ५ः३८ बजे ५ म्याग्निच्यूड, राति १२ः१६ बजे ४.१ म्याग्निच्यूड र राति १२ः५० बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा १६, बैतडीमा २ र अछाममा १ जना गरी १९ जना घाइते भएका छन्। भूकम्पको धक्काले बझाङमा ३१ वटा भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ। यस्तै, बैतडीमा १३ वटा भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।

भूकम्पको धक्काले अछाम, बाजुरा, डोटी र डडेलधुराका केही ठाउँमा पनि घर तथा भवनहरु चर्किएका छन्। बझाङ केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का नेपालको कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा पनि धक्का महसुस भएको थियो। यस्तै, भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र दिल्लीमा पनि महसुस भएको थियो।

भूकम्पको धक्काले बझाङको चैनपुर, तलकोट, थलरा, केदारस्युँ, छान्ना लगायत क्षेत्रमा बढी क्षति पुगेको छ। बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा बढी क्षति भएको छ।

गत १ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा ६ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ३ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक यता सुदूरपश्चिम केन्द्रविन्दू भएर ४ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ५० वटा भूकम्प गएका छन्। यस्तै, ४ म्याग्निच्यूडभन्दा कमको तीव्रता भएका २ हजार ७८ भूकम्प गएका छन्।

२०७९ कात्तिक २२ गते डोटीको खप्तड क्षेत्र आसपास केन्द्रविन्दू भएर ६।६ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले भत्किएका भौतिक संरचनामा च्यापिएर डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरीगाउँका ६ जनाको मृत्यु भएको थियो।

१ जनाको मृत्यु
मंगलबार दिउँसोको भूकम्पबाट बझाङमा १ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपेश चौधरीका अनुसार मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै