बझाङ केन्द्रबिन्दु भएको भूकम्पबाट त्यस क्षेत्रका जिल्लाहरुमा क्षती – Nepalboli

बझाङ केन्द्रबिन्दु भएको भूकम्पबाट त्यस क्षेत्रका जिल्लाहरुमा क्षती

   १६ आश्विन २०८०, मंगलवार  

बझाङ केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले बझाङ सहित बैतडीमा पनि क्षति गरेको छ।  भूकम्पमा घाइते हुनेको संख्या १३ पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

भूकम्पले बैतडी जिल्लाको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा दर्जनौँ घर र विद्यालयका भवन चर्किएका स्थानीयहरुले बताएका छन्।

भूकम्पले बैतडीमा दुुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता योगेश खत्रीका अनुसार भूकम्पले बैतडीको डिलासैनी गाउँपालिका २ की १० वर्षिया निरा भण्डारी र सिगास गाउँपालिका वडा नं २ धौलाडी बस्ने कमला धामी सहितका स्थानियहरु घाइते भएका हुन्। निराको लटिनाथ आधारभूत विद्यालयमाथिबाट ढुङ्गा खस्दा खुट्टामा गम्भीर चोट लागेको उनले बताए।

यस्तै सिगास गाउँपालिका वडा नं २ धौलाडी बस्ने कमलाको खरभागलामा खर काटिरहेका बेला भूकम्प जाँदा शिवलिङ माविबाट खसेको ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेको सिगास गाउँपालिका वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरिले बताए। घाइते धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहको जानकारी उनले दिए। दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै भूकम्पले घर भत्किँदा बैतडीको सिगास गाउँपालिका–३, घकुराडी बस्ने रघुवीर साउदको घरमा क्षति पुगेको छ। साउद रोजगारीका लागि भारतमा छन्। घर भत्किएर आमा र दुई बालकको बिचल्ली भएको छ। भूकम्पले सिगास गास गाउँपालिकाको लेकलुपण माविको भवनमा क्षति पुगेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए।

स्थानीयहरूका अनुसार भूकम्पका कारण बैतडीका अन्य ठाउँमा पनि विद्यालयका भवन चर्किएका छन्। भवन चर्किएको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै