गएको नौ महिनामा आठ लाख पर्यटक नेपाल आए, सबै भन्दा वढी भारतवाट – Nepalboli

गएको नौ महिनामा आठ लाख पर्यटक नेपाल आए, सबै भन्दा वढी भारतवाट

   १४ आश्विन २०८०, आईतवार  

अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन्।

पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए।

नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ। बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए। पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो। सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बंगलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन्।

यस्तै अष्ट्रेलियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै