तनहुँको शिव माध्यामिक विद्यालयमा शुक्रबार ‘बुक फ्रि डे फ्राइडे’ – Nepalboli

तनहुँको शिव माध्यामिक विद्यालयमा शुक्रबार ‘बुक फ्रि डे फ्राइडे’

   १२ आश्विन २०८०, शुक्रबार  

तनहुँको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयले हरेक शुक्रबार बिना किताब विद्यालय आउने व्यवस्था गरेको छ । विगतको परम्परागत पढाइभन्दा ‘बुक फ्रि डे फ्राइडे’ अर्थात् शुक्रबार सीप सिक्न विद्यार्थीलाई यो व्यवस्था गरिएको हो ।

विद्यालयले शुक्रबार एक कार्यक्रम गरी ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रमको सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष रिजालले अतिरिक्त क्रियाकलाप सञ्चालन गरी जीवनोपयोगी शिक्षा प्रदान गर्नका लागि विद्यालयले यस कार्यक्रम सुरुवात गरेको बताउनुभयो ।

विद्यार्थी, अभिभावक र शिक्षकबीच एक अर्काले जानेको जीवनोपयोगी सीप सिकाउने यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । शुक्रबार हुने चार विषयअन्तर्गत जीवनोपयोगी सीप सिकाउने, बुझाउने, सहभागी गराउने क्रियाकलाप गराइने अध्यक्ष रिजालले बताउनुभयो ।

अध्यक्ष रिजालले भन्नुभयो, ‘‘दैनिक जीवनमा उपयोगी कुराहरु सिकाउने व्यवस्था मिलाएका छौं ।’’ विद्यालय व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले हरेक शुक्रबार बिना किताब विद्यार्थी आउने व्यवस्था गर्ने निर्णय गरे अनुसार कार्यक्रम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिनुभयो । सीपको संरक्षण र हस्तान्तरण गर्न बुक फ्रि डेले मद्दत पुग्ने विश्वास लिइएको प्रधानाध्यापक कोइराला बताउनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै