एमसीसी प्रमुख कार्यकारी अधिकृत एलीस पी अलब्राइट आइतवार नेपाल आउँदै

अमेरिकाको वैदेशिक सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी अलब्राइट नेपाल आउने भएकी छन्। उनी आउदो आइतवार ५ दिने नेपाल भ्रमणमा आउँदै छिन्। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो।
अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते (आइतवार) पौने पाँच बजे कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ। असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ।
नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।
‘अमेरिकी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहितका नेपाली अधिकारीहरुलाई भेटघाट गरी एमसीसी कार्यान्वयनमा जान देखिएका समस्या समाधान गर्न छलफल गर्ने छन्,’ एमसीए नेपालका एक अधिकारीले बताए।
सरकारी अधिकारीका अतिरिक्त एमसीसीको टोलीले प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि समयमै एमसीसीको कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने छ।
अलब्राइटको स्वागतका लागि असोज १७ गते एमसीए नेपालले एक भोज आयोजना गरेको छ।
एमसीसी कार्यान्वयनको समयमा उपाध्यक्ष क्यामरन एस। अलफोर्डले तीन दिने भ्रमण गरेकी थिइन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै काठमाडौं आएकी थिएन।