६० किलो बढी सुन तस्करी प्रकरणस् प्रतिवादीको प्रतिरक्षामा बहस हुँदै – Nepalboli

६० किलो बढी सुन तस्करी प्रकरणस् प्रतिवादीको प्रतिरक्षामा बहस हुँदै

   १२ आश्विन २०८०, शुक्रबार  

मोटरसाइकलको ब्रेक प्याडको रुपमा भित्र्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास गराइसकेको अवस्थामा बरामद भएको ६० किलो बढीको सुन तस्करी प्रकरणको मुद्दामा आज शुक्रबार प्रतिवादीका कानुन व्यवसायीले बहस गर्दैछन्। बिहान ११ बजेदेखि बहस सुरु हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

यसअघि बुधबार सरकारी पक्षले बहस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका ५ जना सह–न्यायाधिवक्ताहरुले बुधबार बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतमा बुधबार नै प्रतिवादीहरुको बयान सकाएर थुनछेक बहस सुरु भएको थियो।

अदालतले मुद्दाको पुर्पक्षका लागि प्रतिवादीहरुलाई तारेख, धरौटी वा थुनामा राख्ने भन्नेबारे निर्णय सुनाउनका लागि भएको बहसमा पहिलो दिन बुधबार सरकारी पक्षले आफ्ना दाबीहरु पेस गरेको थियो।

बहस गरेका सरकारी वकिलहरुले अभियोगको बचाउ गर्दै पक्राउ परेर अभियोगपत्रसँगै पेस भएका सबै आरोपीलाई धरौटी वा तारेखमा रिहा गर्न नमिल्ने भएकाले पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।

पक्राउ परेका व्यक्तिहरु नेपाली मात्र नभइ विदेशी नागरिक समेत भएको र एकभन्दा धेरै अभियोगका साथै संगठित अपराध समेतको दाबी लिइएकाले उनीहरुलाई पुर्पक्षका लागि थुनामै पठाएर मुद्दाको किनारा गरिनुपर्ने दाबी सरकारी पक्षले गरेको थियो। ठूलो मात्रामा सुन तस्करी भएको अनुसन्धानमा देखिएको र अझै पनि सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहेकाले उनीहरुलाई थुनामै राख्नुपर्ने सरकारी वकिलहरुले तर्क गरेका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा भएको बहसमा सरकारी वकिलहरुले आरोपीहरु विदेशी र नेपाली नागरिक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए।

सरकारी पक्षको बहस बुधबार नै सकिएको थियो। बिहीबार इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्याकामा सार्वजनिक बिदा भएका कारण प्रतिवादी पक्षको बहस शुक्रबार मात्रै सुरु हुने भएको हो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी पक्षले पुन जवाफी बहस गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै