स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाऊन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण – Nepalboli

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाऊन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण

   ११ आश्विन २०८०, बिहीबार  

पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । चिकित्सक माथिका आक्रमण तथा कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन पनि आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आयोगले चिकित्सक माथि भएका आक्रमण, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याको विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि जनाएको छ । बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकहरू आक्रमण गर्ने घटनाको आयोगले अनुगमन भइरहेको उल्लेख गरेको छ ।

उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र त्यसको जवाफमा उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा बिरामी मर्कामा परेको आयोगको भनाइ छ ।

चिकित्सकले असोज ९ र १० गते अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामीहरू सेवा पाउनबाट बञ्चित भएको देखिएको छ, आयोगले भनेको छ, चिकित्सकहरूमाथि आक्रमणका श्रृङ्खलाबद्ध घटनाहरू विगतमा समेत हुँदै आएका थिए । यसबाट स्वास्थ्यकर्मीको मनोबल र स्वास्थ्य संस्थाहरुको प्रभावकारितामा असर परेको देखिन्छ ।

स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्योपचारको हकमा असर पर्नुका साथै, स्वास्थ्य संस्थाहरू धराशायी बन्न पुग्ने सम्भावना रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै