सूचना प्रविधि सुशासन र समृद्धिको आधारः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्को नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले लाखौं युवालाई देशभित्रै उत्पादन र सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताउनुभयो ।
‘एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीब्रताका साथ अघि बढ्नेछौं भने अर्कोतिर देशभित्र लाखौं युवा उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रि तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं’– उहाँले भन्नुभयो– ‘तसर्थ, आजको यो महत्वपूर्ण कार्यक्रममार्फत म आम युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।’
सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले नेपालमै पहिलोपटक साइबर सुरक्षा नीति पारित भएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो– ‘यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ ।’
अहिले नेपालमा बौद्धिक पलायन ठूलो समस्याको रुपमा देखिन थालेको उल्लेख गर्दै उहाँले नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चित गर्ने क्षेत्र नै सूचना प्रविधि हुने बताउनुभयो ।
ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उल्लेख गर्दै उहाँले यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको जानकारी दिनुभयो । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा डिजिटलाइजेसनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।