नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रतिनिधिसभा र राष्ट्रिय सभाद्धारा शोक प्रस्ताव पारित
गएको मंगलवार निधन भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ बिहिवार अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।
त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।
काठमाडौंको बालुवाटारस्थित निवासमै गएको मंगलवार बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यही दिन बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
बिहिवार नेम्वाङको अन्तिम बिदाइमा सहभागी हुन सर्वसाधारण हातमा फूल लिएर लामबद्ध भएका थिए ।
विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाद्धारा शोक प्रस्ताव पारित
नेम्वाङको निधन पश्चात बिहिवार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकद्धारा शोक प्रस्ताव पारित गरिएको छ । प्रतिनिधीसभा बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेको उनले बताए ।
मृदुभाषी, सरल, सहज र समन्वयकारी नेम्वाङको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको सभामुख घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावमा उल्लेख छ ।
संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने नेम्वाङको निधनमा प्रतिनिधिसभाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको सभामुख घिमिरेले बताए । सभामुखले प्रस्तुत गरेको शोक प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतले पारित गरेको थियो ।
नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा सदस्य थिए ।
२०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधानसभाको अध्यक्ष थिए । यसैगरी २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्री समेत भएका थिए ।
शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । बिहीबार नै राष्ट्रियसभा बैठकले समेत नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।