सडक देखि सदन सम्म चिनियाँ राजदूतको विरोध
गत शनिवार एक सार्वजनिक कार्यक्रममा नेपालकका लागी चिनियाँ राजदूतले भारत वारेमा गरेको टिप्पणीको सडक देखि सदन सम्म विरोध भएको छ । नेपाल भारत विचको विद्युत ब्यापार वारेमा चिनियाँ राजदूतले गरेको टिप्पणीलाई कुटनितीक मर्यादा विपरित रहेको भन्दै उनलाई सचेत गराउनु देखि स्पष्टिकरण सोध्नुपर्ने र चिन फिर्ता पठाउनुपर्ने सम्मको आवाज उठेको छ ।
चिनियाँ राजदूतको अभिव्यक्तिको विरोधमा राष्ट्रिय एकता अभियानले विहिवार काठमाण्डौं स्थित चीनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो।
अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादलगायतका नारा लगाएका थिए।
सडक जस्तै सदनमा पनि उनको विरोध भएको छ । बिहिवार बसेको प्रतिनिधिसभा बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टी तर्फबाट उपाध्यक्ष अब्दुल खानले विशेष समयमा बोल्दै विवादित चिनियाँ राजदूतलाई देश फिर्ता पठाउनु पर्ने भन्दै स्पष्टीकरण समेत लिन सरकारलाई आग्रह गरे।
नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनको टिप्पणी थियो।
‘‘नेपाल र भारतको सम्बन्धमा विष वमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ। यो घोर निन्दनीय छ। यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदाररूपमा गर्दछु।’’
बिहिवार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्तिको विरोध भएको छ ।
परराष्टमन्त्री समेतको सहभागीतामा भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालका पनि राजदूत छन् सोङको अमर्यादित अभिव्यक्तिको नेताहरुले आलोचना गरेका छन ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सम्बन्धलाई लिएर तेस्रो मुलुकले चासो व्यक्त गर्दा त्यसले नेपाल अप्ठ्यारोमा पर्ने बताए । ‘नेपालमा धेरै मुलुकका कूटनीतिज्ञ छन् । यसमा एउटाले प्रतिक्रिया जनाउने र अर्कोले चासो व्यक्त गर्दा अप्ठ्यारो हामीलाई पर्छ’ एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘त्यसैले कूटनीतिक मर्यादा बाहिर गएर कसैले पनि बोल्नुहुँदैन ।’
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यस्ता विषयमा चिनियाँ मात्रै होइन, सबै मुलुकका राजदूतलाई सचेत गराउनुपर्ने बताए ।
‘कुराहरू बढ्दै गए भने अर्को राजदूतले के भन्ला, अर्कोले के भन्ला र हामी एउटा नराम्रो परिस्थितिमा पुग्छौं’ ठाकुरले भने, ‘उहाँलाई बोलाएर अहिले नै हामीले सचेत गराउनुपर्छ । यस्तो कुराहरू नगर्नुहोला भनेर सबै राजदूत र डिप्लोम्याटिक मिसनहरूलाई परराष्ट्र मन्त्रालयले सचेत गराउन आवश्यक छ ।’
समिति सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्पष्ट शब्दमा कुनै पनि मुलुकले नेपालको तेस्रो मुलुकसँगको सम्बन्धलाई लिएर बोल्नु उचित नभएको बताए ।
‘को राजदूत र कहाँको राजदूतले भन्ने भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कुनै पनि छिमेकी वा मुलुकले टिप्पणी गर्ने परम्परा बस्नै दिनुहुँदैन । यो हाम्रो घरेलु विषय हो, हाम्रो सम्बन्धको विषय हो’ उनले भने, ‘सही–गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौं ।’
चिनियाँ राजदूतको नाम नलिई उनले अघि भने, ‘त्यसमा परराष्ट्र मन्त्रालयलाई सतर्क बनाउने या कुनै सन्दर्भमा स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालय र सरकारले यसमा पहल गरोस् ।’
नेपालको आन्तरिक होस् वा बाह्य सम्बन्ध त्यसमा तेस्रो पक्षको चासो हुन नहुने बताए । ‘हामी हाम्रो घरपरिवारसँग के गर्छौं, कसरी घरपरिवार मिलाउँछौं’ उनले भने, ‘हामी हाम्रो छिमेकसँग के गर्छौं, अर्को साथीसँग के गर्छौं, तेस्रो पक्षलाई साँचो दिइनुहुँदैन ।’
एमाले सचिव भीम आचार्यले अभिव्यक्तिको विषयलाई लिएर राजदूतसँग स्पष्टीकरण माग्नुपर्ने बताए । ‘नेपालको आन्तरिक मामलामा कुनै पनि पक्ष बोल्नु राम्रो हुँदैन’ आचार्यले अघि भने, ‘राजदूतले बोलेको विषयमा जानकारी मागेर समितिलाई जानकारी गराउनुपर्छ ।’
राप्रपा महामन्त्री धवलशमशेर राणाले चिनियाँ राजदूतलाई बोलाएर सचेत गराउन सरकारसँग माग गरे । अन्य मुलुकका कूटनीतिज्ञले पनि यसै गरी सार्वजनिक अभिव्यक्ति दिन थाले भने परिस्थिति नियन्त्रण बाहिर जाने भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने मत राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि चिनियाँ राजदूत छेनले दिएको अभिव्यक्ति संवेदनशील भएको भन्दै नजरअन्दाज गर्दा थप असहजता सिर्जना हुने धारणा राखे ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजदूतले माफी माग्नुपर्ने बताए । ‘चिनियाँ राजदूतको अभिव्यक्तिका विषयमा माफी मागे क्षमा दिने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्छ’, साहले भने ।
सांसद एकनाथ ढकालले राजदूत छेनले पोखरा विमानस्थलको उद्घाटनका क्रममा उक्त आयोजना चीनको बीआरआई अन्तर्गत हो भनी दिएको अभिव्यक्तिबारे पनि स्पष्टीकरण माग्नुपर्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भने राजदूत छेनले दिएको अभिव्यक्तिबारे सत्यतथ्य बुझी भविष्यमा नेपालको आन्तरिक र तेस्रो मुलुकसँगको सम्बन्धबारे यस्ता टिप्पणी नदिन सचेत गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा सहभागी परराष्टमन्त्री साउद चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले अध्यन गरिरहेको बताएका थिए । उनले ससंदहरुले उठाएको प्रश्नमा छाटो प्रतिक्रिया दिदै भने, सरकारले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सक्ष्म ढंगले अध्यान गरिरहेको छ ।